२१ असार २०७४, बुधबार

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले नयाँ संरचना अनुसारको स्थानीय तहमा करीब तीन हजार दक्ष स्वास्थ्यकर्मी खटाउने भएको छ ।

मन्त्रालयले संघीय संरचना कार्यान्वनय गर्ने योजना अन्तर्गत गाँउपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा ती कर्मचारीहरुलाई काजमा खटाउन लागेको हो । कर्मचारी खटाउने जिम्मा महानगरपालिकामा स्वास्थ्य मन्त्रालय आफैले लिएको छ भने उममहानगरपालिका देखि गाँउपालिकासम्मको जिम्मेबारी जिल्लालाई दिइएको छ । मन्त्रालयका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्लास्थित समन्वय समितिले उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकामा कर्मचारी खटाउनेछन् ।

संघीय संरचनालाई कार्यान्वयन गर्न निर्वाचन सम्पन्न भईसकेका स्थानीय तहमा यसै महिना भित्र परिषद् सम्पन्न गनुपर्ने र त्यसलाई व्यवस्थापन गर्न प्राविधिक कर्मचारी खटाउन लागिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यले गाँउपालिकामा सम्भव भएसम्म सातौँ तह नभए छैटौँ तहका २ जना कर्मचारी खटाउँने तयारी गरेको छ । मन्त्रालयले एक जना आयुर्वेद तर्फको कर्मचारीसँगै तीन जना खटाउने तयारी गरेको छ । सम्भव भएसम्म नगरपालिकामा आठौँ तहको नभए सातौँ वा छैटौँ तहका कर्मचारी खटाइने छ ।

LIVE TV