२१ असार २०७४, बुधबार

ताप्लेजुङ । ताप्लेजुङका सामुदायीक वनमा पोखरी निर्माण गर्न थालिएको छ । खानेपानी तथा वासस्थान अभावका कारण जंगली जनावारहरु लोप हुन थालेपछि स्थानीयको सक्रियतामा पोखरी निर्माण गरिएको हो ।


हिउँदको समयमा ताप्लेजुङमा पानी अभाव हुने गरेको छ । जसका कारण वन्यजन्तुहरु विस्थापित मात्र होइन मर्ने सम्मको समस्या देखिएपछि जिल्लामा रहेका सामुदायिक वनले पोखरी निर्माणलाई प्राथमिकतामा राखेको छ । जिल्लामा क्रियाशिल सामुदायिक वनसँगको साझेदारीमा विगत ६ वर्ष देखि वन्य जन्तु संरक्षण क्षेत्रमा कार्यरत संस्था हिमाली संरक्षण मञ्च र रेडपाण्डा नेटर्वकको सहर्कायमा जिल्लाको लालिगुराँस सामुदायिक वन र फुरुम्वू खर्क सामुदायिक वन २ वटा पोखरी बनाइएको छ । जिल्लाको एक नगरपालिका सहित ५ वटा गाउँपालिकामा वन्य जन्तुको संरक्षणको पहल गर्न थालिएको छ । भौगोलिक रुपमा विकट मानिएको ताप्लेजुङमा रेड पाण्डा, हिउँ चितुवा, कस्तुरी, खरायो, घोरल, भालु, नाउर, वाघ लगायतका वन्य जन्तुहरु पाइन्छन् ।

नेपालमा पाइने रेडपाण्डा संरक्षणको अभावमा लोप हुदै गएको विज्ञहरुको भनाई छ । रेडपाण्डाका छाला चोरी तस्करी हुने भएकाले संरक्षणमा जोड दिइएको छ ।

 

LIVE TV