२१ असार २०७४, बुधबार

काठमाण्डौ । प्रदेश नम्बर २ बाहेकका सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भैसकेको छ । प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ भने प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा जनप्रतिनिधिले काम थालिसकेका छन् । तर, जनप्रतिनिधिलाई काम गर्नका लागि आवस्यक कानुन भने बन्न सकेको छैन ।

 व्यवस्थापिका संसदको बुधबार बसेको बैठकमा सांसदहरुले आवस्यक कानुन निर्माणमा जोड दिएका छन् । सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानून शीघ्र निर्माण गर्नुपर्नेमा जोड दिए । व्यवस्थापिका–संसद् बैठकको विशेष समयमा सांसद डाक्टर राजन भट्टराईले हालै निर्वाचन सम्पन्न भएका स्थानीय तहका लागि आवश्यक कानुन छिटो ल्याउनुपर्ने बतए । संविधानले तोकेको अवधिभित्र सबै प्रकारका निर्वाचनको तयारीमा सरकारको आवश्यक तदारुकता नदेखिएको टिप्पणी गर्दै उनले त्यसका लागि आवश्यक कानुन र तयारी हुन नसकेको बताए ।

सांसद राजाराम स्याङ्तानले स्थानीय तहमा आवश्यक कर्मचारी नभएर काम गर्न कठिनाइ भएको उल्लेख गर्दै स्थानीय तहको शासन सञ्चालन सम्बन्धी ऐन छिटो बनाउनु पर्नेमा जोड दिनुभयो । संसद बैठकमा तत्काल स्थानीय तह शासन सञ्चालन सम्बन्धि कानुन बनाएर स्थानीय सरकार सञ्चालनमा सहज बनाउनुपर्नेमा सांसदहरुको जोड थियो ।

 

LIVE TV