२० असार २०७४, मंगलवार

काठमाण्डौ । नेपालमा सरकारी तथा गैरसरकारी संस्थाले एचआइभी एड्स न्यूनीकरणका लागि प्रयास गरे पनि सोचेअनुरुप प्रभावकारी हुन नसकेको बताएका छन् । यहाँ आज आयोजना गरिएको ‘एचआइभी एड्स न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा एचआइभी एड्स न्यूनीकरणका लागि कार्यक्रम धेरै सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको बताइएको हो ।

वीर अस्पतालका वरिष्ठ परामर्शदाता डा सुशील शाक्यले एचआइभी एड्स प्रभावित क्षेत्रमा मात्र कार्यक्रम सञ्चालन नभई देशभरि नै सचेतना कार्यक्रम जरुरी भएको बताए ।उनले नेपालमा ७२ हजार एचआइभी एड्स पीडितबाट ३२ हजारमा झारिए पनि सहरको तुलनामा कतिपय जिल्लामा बढी प्रभावित भएको हुँदा देशैभर सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यो भाइरसको चिन्ताले संसारभरि नै सचेतना अपनाइरहेको उल्लेख गरे ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ सार्वजनिक स्वास्थ्य अधिकृत शम्भू काफ्लेले नेपालमा छिट्टै ७५ वटै जिल्लामा सेवा सञ्चालन गरी एचआइभी एड्स न्यूनीकरण अभियान सञ्चालन गर्ने जानकारी दिए ।दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म एचआइभी एड्सको महामारी विश्वबाटै उन्मूलन गर्ने लक्ष्यअनुरुप नेपालमा पनि सोही तरिकाले न्यूनीकरण गर्ने तयारी भइरहेको उहाँले बताए ।

LIVE TV