२० असार २०७४, मंगलवार

काठमाडौ । काठमाडौमा सडकको समस्या कुनै नौलो होइन । हिउँदमा आँखा हेर्न नसनिे गरी धुलो उड्ने राजधानी शहरका सडकमा अहिले बर्खा लाग्दा खुट्टा टेक्नै नसकिने हिलो भएको छ । अझ कतिपय स्थानमा त गाडीको टायर नै डुब्ने खाल्डो परेको छ । यो सडकमा मान्छे हिड्न त परको कुरा गाडी चलाउन पनि नसकिने अवस्था छ । हिउँदमा धुलो र बर्खामा हिलो हुने सडकको अवस्थाको कारण नागरिकहरुले सधैँ सास्ती भोगिरहेका छन ।

असारमा धान रोप्न तयार गरिएको खेत जस्तो देखिने यो दृश्य अन्त कतैको नभएर राजधानीको चावहिलको हो । चावहिल चोकबाट बौद्ध तर्फ जाने सडककोे यो अवस्थाले नागरिकहरुको दैनिकीमा ठूलो असर पारेको छ । मङ्गलबार यही बाटोमा यात्रा गर्दै गर्दा सुमन बुढाथोकीको टेम्पो बिग्रन गयो । हिलो मै डुबेर बनाउनु बाहेक अन्य कुनै विकल्प सुमनसंग थिएन । र उनि यहि हिलाम्मे बाटोमा टेम्पो बिग्रिएपछि हिलोको पर्वाह नगरी हिलोमै बसेर टेम्पो बनाउँदै थिए । र बाटोकै कारण टेम्पो बिग्रिएको र बाटोको हालत तर्फ कसैको ध्यान नगएको भन्दै गुनासो गर्दै थिए उनी ।

बाटोको विषयमा स्थानीयले धेरै पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका थिए । उनिहरुको गुनासोको कुनै सुनुवाई नभएपछि वडा कार्यलय घेराउ समेत गरेका थिए । तर वडा कार्यलयले मेलम्चीलाई दोष देखाउने र मेलम्चीले चाँडै नै काम हुने बताएपनि अहिलेसम्म केही काम नगरेको स्थानीयको दुखेसो छ । सरकारमा भएका नेताहरु जनताको समस्या समाधानमा भन्दापनि कुर्सीको खेलमा लागेको कारण आफुहरुले सधैँ सास्ती भोग्नु परेको अर्का स्थानीयको आक्रोश छ ।

चक्रपथको यो सडक त एउटा उदाहरण मात्र हो । राजधानीका धेरै ठाउँहरुमा यस्ता सडकहरु प्रशस्त देख्न सकिन्छ । जनता र सर्वसाधारणलाई परेको सास्ती चिल्ला सवारी साधनमा गुड्नेहरुले नदेख्दा नै जनताले मौसम अनुसारको मार काठमाडौंको सडकमा भोग्दै आउनु परेको छ ।

LIVE TV