१९ असार २०७४, सोमबार

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताउनुभएको छ ।

आज यहाँ आयोजित प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने बताउनुभयो ।

देउवाले भन्नुभयो – “सुदूरपश्चिमको विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रम ल्याइनेछ ।”

अहिलेसम्म भएका पूर्वाधारसँगै थप विकासका लागि सरकारले आवश्यक गृहकार्य गर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो – “किसानले उत्पादन गरेको कृषि उपज सहज रुपमा बजारसम्म पु-याउन सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।”

सुदूरपश्चिम प्राकृतिक साधन स्रोतले सम्पन्न भएकाले त्यसको सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो – “प्राकृतिक साधन स्रोतको योजनाबद्ध रुपमा व्यवस्थापन गरी अगाडि बढ्ने काम हुनेछ । यसले रोजगारीका अवसर सिर्जना गर्नेछ ।”

LIVE TV