१९ असार २०७४, सोमबार

नेपालको उड्डयन क्षेत्रको सुरक्षा सुधारबारे गहन अध्ययन र मूल्यांकन गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको एक टोली काठमाण्डौं आएको छ । आइकाओका सेफ्टी ओभरसाइट शाखाका उच्च अधिकारी सम्मिलित टोलीले मंगलबारबाट काम थाल्नेछ ।

संसारभरका नागरिक उड्डयन प्राधिकरणको छाता संगठन आइकाओमा १ सय ९१ देश सदस्य छन् । यसले ती देशका नागरिक उड्डयन क्षेत्रको सुरक्षा र सुधारबारे अडिट गर्दै आएको छ । आइकाओका क्याप्टेन भोउड्री युजेनी र एरोनटिकल इन्जिनियर एडमन्ड बोहल्यान्ड सम्मिलित टोलीले मंगलबारबाट काम थाल्नेछ । टोलीले असार २७ सम्म नागरिक उड्डयन प्राधिकरणका सबै कागजात मिहिन अध्ययन र मूल्यांकन गर्ने छ ।

टोलीमा सम्मिलित दुबै जना आइकाओका ‘सेफ्टी ओभरसाइट’ शाखाका उच्च अधिकारी हुन् । आइकाओ टोलीले नियामक निकाय प्राधिकरण, पर्यटन मन्त्रालयको वायुयान दुर्घटना जाँच निकाय र उड्डयन मौसमी सेवा प्रदान गर्ने निकायको अडिट गर्ने छ । उड्डयन सुरक्षा सुधारमा प्रभावकारी काम भएपछि नागरिक उडड्यन प्राधिकरणले आइकाओलाई अडिट गर्न बोलाएको हो ।

पछिल्ला केही वर्षदेखि आइकाओले नेपाललाई ‘सिग्निफिकान्ट सेफ्टी कन्सर्न’ एसएससी मा राखेको छ । अब आउने टोलीको अडिटपछि एसएससी हट्यो भने प्राधिकरणले युरोपेली आयोगलाई उनीहरूको ‘हवाई सुरक्षा सूची’ कालोसूची बाट नेपाललाई हटाउन आग्रह गर्ने छ ।

LIVE TV