१८ असार २०७४, आईतवार

बैतडी । तीन महिनाकी दूधे बालिका काखी च्यापेर भोट मागेकी बैतडी सुर्नया गाउँपालिकाकी लिला विष्ट उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । सुर्नया गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित लिलाले आफ्नो संघर्षलाई सफलतामा बदल्ने बताउनुभएको छ ।

गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जिते पनि उपाध्यक्षमा एमालेकी लिला विजयी हुनुभएको हो । महिलाले गाउँ गाउँ डुल्दै हिड्नुहुन्न भन्ने गाउँघरको पुरानो मान्यतालाई चिर्दै लिलाले गाउँपालिकाको उपाध्यक्षमा २३०४ मत ल्याएर विजयी भएपछि अहिले उहाँलाई बधाइ दिनेको ओइरो लागेको छ । जेठ महिनाको गर्मी, असारको झरी र बर्षा नभनी ३ महिनाको छोरीलाई काखीमा च्यापेर घर घर पुगेर भोट माग्दाको क्षण सम्झिदै पनि धेरैले उहाँलाई अहिले आँटिली महिला भन्दै बधाई दिएका छन् ।

यसरी आफूले गरेको दुःख सारा गाउँलेले बुझेर जिताएकोमा लिलाले खुशीसँगै ठुलो जिम्मेवारी बोध गरेको बताउनुभएको छ । लामो समयदेखि जनप्रतिनिधिविहीन ग्रामीण क्षेत्रको विकास गर्ने जिम्मा आफ्नो काँधमा आएको भन्दै उहाँले सुर्नयाबासीको पीडा कुनै पार्टीको नभई साझा भएको र त्यो कम गर्ने जिम्मेवारी आफ्नो भएको बताउनुभयो ।

LIVE TV