१८ असार २०७४, आईतवार

मलेसिया । गैरकानुनी आप्रवासीविरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियानअन्तर्गत २४ घण्टायता १ हजार ३५ जना पक्राउ परेका छन् । तीमध्ये १ सय ४ जना नेपाली छन् ।

मलेसियाको प्रहरी प्रशासनले जनाए अनुसार पेराकबाट ९ जना, केलाङ–कापरबाट ५ र जोहोरबारुका विभिन्न स्थानबाट ९० जना नेपाली पक्राउ परेका हुन् । मलेसियाली सरकारले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासीका लागि पछिल्लो पटक सञ्चालन गरेको दर्ता कार्यक्रमको समयावधि सकिएको भोलिपल्टदेखि नै देशव्यापी धरपकड थालेको हो । त्यस अभियान सुरु गरेको २४ घण्टायता प्रमुख सहरहरु जोहोरबारु, पेनाङ, केलान्तान, क्वालालम्पुर, मलक्का, पर्लिस, सारावक, पेराक, केडाह, नेगरी सेम्बीलान, पाहाङ र लाबुवानका विभिन्न स्थानमा छापा मारिएको र उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा नेपालसहित वंगलादेश, इन्डनेसिया, म्यानमार, पाकिस्तान, फिलीपिन्स, थाईल्यान्डलगायत विभिन्न मुलुकका नागरिक रहेका छन् । तीमध्ये अधिकांश बंगलादेशी छन् । पक्राउ पर्नेमध्ये १ सय १ जना महिला र ३ जना बालबालिका समेत छन् । अन्य देशका नागरिकको तुलनामा पक्राउ पर्ने नेपालीहरु न्युन संख्यामा छन् ।

पक्राउ परेकाहरुलाई कालोसूचीमा राखेर पुनः मलेसिया आउन नपाउने गरी उनीहरुकै देश फिर्ता पठाइने अध्यागमन अधिकारीहरुले बताएका छन् ।

 

LIVE TV