१७ असार २०७४, शनिबार

काठमाण्डौ। क्यानडा स्वतन्त्र भएको १५० औँ वर्षगाठको उपलक्षमा आज नेपालमा पनि कार्यक्रम गरी नेपाल तथा क्यानडाको मैत्री सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले क्यानडाले जलविद्युत्का क्षेत्रमा गरेको प्रगति तथा अन्तर्राष्ट्रिय तहमा जलस्रोत कानुनमा गरेको योगदानबाट नेपालले पाठ सिक्नुपर्ने बताए । उनले दुई मुलुकबीच रहेका सांस्कृतिक, आर्थिक सम्बन्धलाई अभिवृद्धि गरी जनस्तरमा फैलाउनपर्नेमा जोड दिँदै नेपालको जलविद्युत् उत्पादन तथा पर्यटनका क्षेत्रमा क्यानडाको लगानी भित्र्याउने वातावरण तयार गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभादेवी खड्गीले महानगरभित्रको सम्पदास्थल चाडो जीर्णोद्धार गरी पर्यटकको आकर्षण केन्द्र बनाउने तयारी भइरहेको जानकारी गराए । पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले आप्रवासीमैत्री समाज भएको क्यानडामा ५० प्रतिशत महिला मन्त्रिपरिषदमा सहभागी रहेको बताउँदै त्यहाँको प्रजातान्त्रिक प्रणाली तथा राजनीतिक संस्कार नेपालले सिक्न आवश्यक रहेको औँल्याए ।

सङ्घका अध्यक्ष प्रदीपकुमार खतिवडा, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा, डा बुद्ध बस्नेत, पत्रकार अनिल थापालगायतले दुबै मुलुकबीच रहेको कुटनीतिक सम्बन्धलाई जनस्तरमा बढाउनुपर्नेमा जोड दिए ।

 

LIVE TV