१६ असार २०७४, शुक्रबार

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाका ३ वडामा नेपाली कांग्रेसको वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ । दशरथचन्द नगरपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका भुवन भट्ट वडा अध्यक्षमा विजयी हुनुभएको छ । भट्टले ५४४ मत ल्याउनु भएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका मदनसिंह भाटले ३४२ मत ल्याउनुभएको छ । यसैगरी महिला सदस्यमा पुट्की लुहार, दलित महिला सदस्यमा जानकी भुल, खुला सदस्यमा चक्र बहादुर चन्द र नवराज भट्ट विजयी हुनुभएको छ । यसैगरी दशरथचन्द नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसका रन बहादुर बोहरा विजयी हुनुभएको छ । ५२३ मत ल्याएर बोहरा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका सूर्य बोहरा ५१७ मत ल्याएर ६ मतले पराजित हुनुभएको छ ।

वडा नं २ का सदस्यहरुमा पनि नेपाली कांग्रेसकै जयन्ती बोहरा, गितादेवी लावड, करनसिंह थलाल र रमेश बहादुर बोहरा विजयी हुनुभएको छ । यस्तै दशरथचन्द नगरपालिकाको वडा नं ३ मा पनि नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका दामबहादुर क्षेत्री ३०७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका अजब बहादुर पाण्डेले २१२ मत ल्याउनुभयो । सदस्यहरुमा नेपाली कांग्रेसका हरु ओड, मानमती पुजारा,मानसिंह नाथ र सुदर्शन बोहरा विजयी हुनुभएको छ ।

दशरथचन्द नगरपालिकाको मेयरमा भने राप्रपाका पुष्करराज जोशी लख्खाभाईको अग्रता कायमै छ । उहाँले १ हजार ४१० मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका मेयरका उम्मेद्वार नरेन्द्रसिंह थापाले १ हजार ४८ मत ल्याउनुभएको छ । एमालेका देवदत्त भट्टले ६०४, माओवादी केन्द्रका खीमानन्द भट्टले २५१ मत ल्याउनुभएको छ । उपमेयरमा नेपाली कांग्रेसका मीना चन्दले १ हजार ८३ , एमालेका सरस्वती नेपालीले ७९९, राप्रपाका अम्बिका भण्डारीले ८३४ र माओवादीका कमला कार्कीले ३९२ मत ल्याउनुभएको छ । अन्नपूर्णपोष्ट बाट

LIVE TV