१५ असार २०७४, बिहीबार

झापाबजार झापा­ । राष्ट्रिय राजनीति र आर्थिक-सामाजिक क्षेत्रमा मुलुककै अग्रणी सुदूरपूर्वी जिल्ला झापाका दुर्गम दक्षिणी गाउँ नीति-निर्माता र जनप्रतिनिधिको नजरमा पर्न सकेका छैनन् ।

भारतीय सीमाका यी गाउँमा उत्साहित भएर बुधबार मतदान गरेका मतदाताले गाउँ अधिकारसम्पन्न भएको र बजेट सोझै गाउँमै आएकाले अब चुनिएर आउने जनप्रतिनिधिले गाउँ विकसित र समृद्ध हुने अपेक्षा गरेका छन् । झापाका दक्षिणी गाउँमा थारू, चौधरी, मेचे, कोचे, सन्थाल, राजवंशी, मुसलमान, बाहुन, क्षत्री, राई, लिम्बूजस्ता लगभग नेपालका सबैजसो जातिसमुदाय अद्भुत मेलमिलापका साथ बसोबास गर्छन् । सामान्य उपचार वा शिक्षा-दीक्षाका लागि उनीहरू विर्तामोड, दमक वा भद्रपुर जानुपर्छ ।

राज्यका निकाय र जनप्रतिनिधिको नजर आफूकहाँ नपरेको भन्दै खिन्नता व्यक्त गर्छन् उनीहरू । बुधबार मतदानको दिन मतदानकेन्द्रका चियापसलमा धुर्रिएका सर्वसाधारणले राज्यसत्ताप्रति र नेताप्रति आक्रोश व्यक्त गरे । अहिलेको सदरमुकाम भद्रपुरभन्दा ५० किलोमिटर टाढा रहेको झापा जिल्लाको पुरानो सदरमुकाम झापाबजारका दुई-तीन चियापसलमा अन्नपूर्णकर्मी पुग्दा मतदाताको मनमा आक्रोश थियो तर मुखमा मुस्कान । सामाजिक सद्भाव र मेलमिलापमा अग्रणी यो गाउँमा सामान्य उपचारका लागि पनि एम्बुलेन्स वा गाडी खोजेर ३५ किलोमिटर टाढा विर्तामोड पुग्नुपर्छ । ‘हामीलाई जनप्रतिनिधिले हेलाहोचो गरे, झापा गाउँपालिका-४ का विजय कोचले भन्नुभयो, ‘हामी समाज र मनका धनी छौं तर विकासमा धेरै गरिब ।

जिल्लाको पुरानो सदरमुकामलाई साँच्चै हेला गरिएको छ । विरलै सञ्चारकर्मी पुग्ने र राष्ट्रिय समाचारमा कहिल्यै नआउने झापाबजारमा अन्नपूर्णकर्मी पुग्दा गाउँलेहरू घेरेर आफ्ना समस्या बताउन थाल्थे । झापा गाउँपालिका-४ मा रहेको डिल्लीराज मावि मतदान केन्द्र अगाडिको चियापसलमा स्थानीय मतदान र भावी जनप्रतिनिधिले गर्नुपर्ने कामबारे चर्चा गर्दै थिए । बिहानैदेखि लाम लागेर चाँडै मतदानको काम सके पनि मतदाताहरू सामुन्नेको चिया पसलमा बसेर २० वर्षपछि भएको निर्वाचनको चर्चा-परिचर्चा गरिरहेका थिए । उनीहरूले स्थानीय समस्याबारे बेलिबिस्तार लगाए । चियापसलमै भेटिएका समीरउद्दीन मियाँले झापाको पुरानो सदरमुकामका समस्याबारे विस्तृतमै बताउनुभयो । उहाँले भन्नुभयो, ‘झापा जिल्लामै भएर यहाँ आधारभूत आवश्यकता नै पूरा हुन सकेका छैनन् । बाटोघाटो, विद्यालय, कलेज, अस्पताल, खानेपानी, खोलाको कटान-यहाँ समस्यैसमस्या छ ।

धानखेतीमा प्रसिद्ध झापाका दक्षिणी गाउँ फाँटहरूले भरिएका छन् । तर, बर्खाको बेला बिरिङ, माई र रतुवाजस्ता खोलाले यी उब्जाउ जमिनमा धावा बोल्छन्, खासगरी दक्षिणी भेगमा । बीउविजन, मलखाद, कटान, सिँचाइ अभाव यहाँका सदावहार समस्या हुन् जसलाई ०४८ सालपछि चुनिएका कुनै राष्ट्रिय प्रतिनिधि वा स्थानीय प्रतिनिधिले सम्बोधन गर्न सकेका छैनन् । ‘हामी त उनीहरूका लागि भोटबैंक मात्र भयौँ, मीठामीठा कुरा गर्ने र भोट कुम्ल्याउने मात्र, स्थानीय प्रदीपराज जोशीले भन्नुभयो । कुनै समय झापाका आदिवासी सन्थाल, राजवंशी, थारू, मुसलमान, मेचे, कोचेको मात्र बसोबास रहेका दक्षिणी गाउँमा अहिले पहाडतिरबाट गएका समुदायको उल्लेख्य बसोबास छ । उनीहरूबीच अद्भुत सामाजिक सद्भाव र मेलजोल छ । झापा बजारकै स्थानीयका शब्द सापटी लिने हो भने यो यस्तो गाउँपालिका हो जहाँ कुनै समुदायका मानिसले अर्को समुदायका मानिसलाई पटक्कै हेलाहोचो गर्दैनन् । कतिपय राजनीतिक आन्दोलनको उद्गमस्थल झापा जिल्लामा यसै पनि ठूलो(सानो र जातिजातिबीचको भेदभाव छँदै छैन भने पनि हुन्छ ।

यद्यपि, विकास निर्माणमा भने दक्षिणी गाउँ धेरै पछाडि परेका छन्। ०४६ सालपछिका पाँच संसदीय निर्वाचनमा चारपटक कांग्रेस र एकपटक एमालेका प्रतिनिधि निर्वाचित भएको झापाबजार क्षेत्रका सर्वसाधारणले साविक कुमरखोद, टाँघनडुब्बा र शरणामतिका बासिन्दालाई भोटबैंकको रुपमा मात्र प्रयोग गरेको गुनासो गरे । एक जना स्थानीय धनबहादुर थेबेले आक्रोश पोख्नुभयो, ‘खोइ, अहिलेसम्म के गरे, पहिला जितेर जानेले ?  अब चुनिएर आउने जनप्रतिनिधिलाई झापाबजारका स्थानीयले आफ्ना समस्या शृंखलाबद्ध सुनाउनाका साथै समाधानको प्रेस्क्रिप्सन पनि सुनाए । झापा गाउँपालिकाको दायाँ-बायाँ रहेका विरिङ र कन्काई खोलाको कटान रोकेर यहाँका खेतीयोग्य जमिन बचाउन उनीहरूको माग छ । त्यसपछि किसानका लागि भरपर्दो सिँचाइ, मलबिउमा सहुलियत दिनुपर्ने उनीहरूले बताए ।

दक्षिणी क्षेत्रको अर्को महत्ववपूर्ण समस्या नागरिकता हो । वंशजकै आधारमा नागरिकता पाएकाहरूका छोराछोरीले पनि नागरिकता नपाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरे । अर्को समस्या, अस्पताल र सुविधापूर्ण बाटोघाटो अभाव हो । ‘यति भए हामीलाई पुगिहाल्छ, स्थानीय समीरउद्दीन मियाँले हाँस्दै भन्नुभयो, ‘अब आउने जनप्रतिनिधिले केही गर्लान् कि! अन्नपूर्णपोष्ट बाट

LIVE TV