१५ असार २०७४, बिहीबार

काठमाण्डौ । तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको छ । स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं. १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा आधा दर्जन छिटपुट घटनाबाहेक सामान्य रूपमा सम्पन्न भएको छ । केही क्षेत्रमा राति ८ बजेसम्म मतदान जारी रहेकाले निर्वाचनमा सहभागिताको कुलसंख्या र प्रतिशत अझ बढ्ने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगका निमित्त सचिव महेश्वर न्यौपानेले केही जिल्लाका मतदान केन्द्रमा साँझ आठ बजेसम्म मतदान कार्य भएकाले खसेको मत प्रतिशत ७४ पुग्ने आंकलन गर्नुभयो ।

तीन प्रदेशका ६४ लाख ३२ हजार ७६५ मतदाता १५ हजार ३८ प्रतिनिधि छान्नयोग्य मातदाता थिए । ३५ जिल्लाका १ महानगरपालिका ७ वटा उपमहानगरपालिका १११ नगरपालिका २१५ गाउँपालिका गरी ३३४ स्थानका प्रतिनिधि छनोट गर्न निर्वाचन भएको हो ।

निर्वाचन बहिष्कारका लागि आह्वान गरेको राजपा नेतृत्वले भने नैतिक र राजनीतिक पराजय भोगेको छ । विभिन्न ठाउँमा पार्टीकै महत्वपूर्ण व्यक्तिहरूले स्वतन्त्रु हैसियतमा चुनाव लडे भने राजपाप्रति सहानुभूति राख्ने मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिए ।

आयोगले मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । यो मत वैशाख ३१ मा सम्पन्न पहिलो चरणको निर्वाचनभन्दा केही बढी हो ।

वर्षाका कारण केही केन्द्रमा ढिलो गरी मतदान, केही स्थानमा बम राखेर निर्वाचन बिथोल्न प्रयास गरिए पनि सुरक्षा प्रबन्ध राम्रो गरिएकाले शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताउनुभयो ।

वर्षातको समय भए पनि व्यवस्थापन राम्रो भएकाले मतदान कार्य सहज भएको आयोगले बताएको छ । बुधबारको मतदानमा सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ ।

सरागल-६ मा दुई मत

आयोगका अनुसार नवलपरासीको सरावल गाउँपालिका वडा नं। ६ मा जम्मा दुई मत खसेको छ ।
बुधबारको मतदानमा केही रमाइला र अनौठा घटना पनि भए । दाङ जिल्लाको एक मतदान केन्द्रमा बिहान साढे नौ बजेतिर मोटरसाइकलमा आएका व्यक्तिले सोही मतदान केन्द्रलाई लक्ष्य गरी सुतली बम प्रहार गरेका थिए । उक्त बमलाई प्रहरी हवल्दार दुर्गाबहादुर रानाले जोखिम मोल्दै हातले सुरक्षित ठाउँमा मिल्काइदिए । उनको यो जोखिम र बहादुरी कार्यले त्यहाँ कुनै दुर्घटना हुन पाएन ।
त्यस्तै, ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गर्नुभएको छ । बैतडी जिल्लाको सुरनया गाउँपालिको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय साउदले मतदान गर्नुभएको हो ।
त्यस्तै, अछाममा दुई महिलाले मतदानका लागि लाइनमै बस्दा बच्चा जन्माएका छन् । अछाम रामारोशन गाउँपालिका वडा ४ को बाटुला सैनस्थित नन्दकाली आधारभूत विद्यालयको क मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेको दुई महिलाले बच्चा जन्माएका हुन् । रामारोशनकी २५ बर्षीय मीना बोहोरा र शुभा हामले बच्चा जन्माउनुभएको हो ।
बझाङमा स्थगित
यता, बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र क, ख मा मतदान स्थगन भएको छ । निर्वाचन आयोगका अनुसार वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगन भएको हो।

त्यस्तै, रुपन्देहीको कोटीभीमाई गाउँपालिका-१ मा असार १६ गते मतदान हुने भएको छ । माओवादी केन्द्रबाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरले मल्लाहको शनिबार निधन भएपछि मतदान पर सारिएको आयोगले जनाएको छ ।

७ दिनभित्र परिणाम आउने

मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन कार्य भएको आयोगले जनाएको छ । मतपेटिका जम्मा गरेपछि मुख्य निर्वाचन अधिकृतले जिल्लास्थित सुरक्षा निकायसँग समन्वय गरी मतगणनाको समय र स्थान तोक्नेछन् । भरतपुरमा मतपत्र च्यातिएको घटनाजस्तै यो पटक नदोहोरियोस् भनेर आयोगले मतगणनामा पर्याप्त सुरक्षा प्रबन्ध गरी मतगणना गराउने व्यवस्था गरेको अयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । धेरै टोली बनाएर उचित ठाउँको व्यवस्थापन गरी सुरक्षा प्रबन्ध गरेर मात्रै मतगणना गर्न निर्देशन दिइसकेका छौुं, उहाँले भन्नुभयो । वर्षाको समय भएकाले मतपेटिका जोगाउन त्यही खालको व्यवस्थापनको कार्य भइरहेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शर्माका अनुसार नगरपालिकाको सात दिनभित्र र गाउँपालिकाको तीन दिनभित्र मतगणना सम्पन्न गराउने व्यवस्था मिलाइएको छ ।

तिङलामा शून्य मतदान

सोलुखुम्बु : जिल्लाको नेचासल्यान गाउँपालिका-६ तिङ्लामा शून्य मतदान भएको छ । स्थानीय तह पुनःसंरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरूले विरोधस्वरूप मतदान नगरेका हुन् ।

नेचासल्यान-६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडि बढाए पनि उक्त समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।

नेचासल्यान गाउँपालिका-६ तिङ्लामा दुई हजार ४७६ मतदाता छन् । यो वडामा कसैले पनि उम्मेदवारी दिनुभएको छैन । सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचासल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको संघर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिनुभयो । स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरमाइलो लागे पनि त्यो आफूहरूको बाध्यता भएको बताउनुभयो । रासस

सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत
भोजपुरमा ६१ प्रतिशत
केही जिल्लामा ८ बजेसम्म जारी
मतदान स्थलमा सुतली बम प्रहार
वडामा खस्यो २ मत
अछाममा मतदानकै क्रममा बच्चा जन्मिए
बैतडीमा ११३ वर्षीय वृद्धद्वारा मतदान
मतपेटिकामा एसिड खन्याउँदा आगजनी
अन्नपूर्णपोष्ट बाट

LIVE TV