१४ असार २०७४, बुधबार

काठमाण्डौ । नेपालमा बर्सेनि औसत एक हजार आठ सय सर्वसाधारणले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । दुर्घटना बर्सेनि बढिरहेको छ तर नियन्त्रणमा सरकार उदासीन देखिएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार तीन आर्थिक वर्षको दुर्घटना संख्या हेर्दा ०७३/७४ मा सबैभन्दा बढी दुर्घटना भएको छ । यो आवको जेठसम्म मात्रै मुलुकभर १४ हजार ७ सय ४ वटा दुर्घटना भएका छन् । दुर्घटनामा २ हजार १ सय ४२ जनाले ज्यान गुमाएका छन् । ४ हजार ३ सय ४७ जना सख्त घाइते र १२ हजार ३ सय ११ जना सामान्य घाइते छन् ।

आव ०७२र७३ को तुलनामा यो संख्या बढी हो । उक्त आवमा मुलुकभर १२ हजार ३ सय ७२ वटा सवारी दुर्घटना भएका थिए । त्यसमा १ हजार ७ सय ८८ जनाले अनाहकमा ज्यान गुमाउनुपरेको थियो भने ३ हजार ५ सय ७८ जना सख्त र ११ हजार १ सय २३ जना सामान्य घाइते भएका थिए ।त्यसैगरी, आव ०७१र७२ मा १४ हजार १ सय ४४ वटा सवारी दुर्घटना भएका थिए । त्यसमा २ हजार १ सय ३७ जनाले ज्यान गुमाएका थिए भने ४ हजार २ सय ८७ जना सख्त घाइते र ११ हजार ७ सय ६९ जना सामान्य घाइते भएको प्रहरी मुख्यालयले जनाएको छ ।

दुर्घटना बर्सेनि वृद्धि हुनु र ज्यान गुमाउनेको संख्या बढ्नुमा सरकारको गैरजिम्मेवारीपन र लापरबाही प्रमुख कारण भएको ट्राफिकविज्ञ आशिष गजुरेल बताउनुहुन्छ । उहाँले दुर्घटना हुनुमा चारवटा मुख्य कारण रहेको औंल्याउनुभएको छ । खासगरी खराब सडक संरचना, थोत्रा सवारीसाधन, सडक प्रयोगकर्ता ९यात्रु, चालक र पैदलयात्री०को लापरबाही र भएका नियम(कानुन पालना नहुनु दुर्घटनाका कारक हुन् ।

सडक संरचना अभावमै जथाभावी सवारी रुट वितरण गर्नु, सडकको भौतिक पूर्वाधार निर्माणमा सरकार उदासीन देखिनु र लामो रुटमा एउटै चालकले सवारी हाँक्नुले दुर्घटना बढेका छन् । यस्तो अवस्थामा सरकार रमिते बनेर बस्नुहुँदैन । भएका नियमलाई राम्रोसँग पालना गराए मात्रै दुर्घटना न्यूनीकरणमा टेवा पुग्छु, गजुरेलले अन्नपूर्णसँग भन्नुभयो, ुपहाडी क्षेत्रमा घुमाउरोसँगै कच्ची सडक र सडक कुल्लीले नै इन्जिनियरिङ गरेका सडकमा चालकले लापरबाही ढंगले गाडी कुदाउँदा दुर्घटना भएका छन् ।

दुर्घटनामा चालकको लापरबाही, यात्रुको गल्ती, जथाभावी ओभरटेक, तीव्र गति, मापसे सेवन, यान्त्रिक गडबडी, ओभरलोडलगायत कारण ।

प्रहरी मुख्यालयले भने दुर्घटनामा १० वटा कारण औंल्याएको छ । चालकको लापरबाही, यात्रुको गल्ती, जथाभावी ओभरटेक, तीव्र गति, मापसे गरेर सवारी हाँक्नु, यान्त्रिक गडबडी, ओभरलोड, सडकमा जथाभावी चौपाया छाड्ने प्रवृत्ति, कमजोर भौतिक पूर्वाधार र मौसम खराबीका कारण दुर्घटना हुँदै आएको जानकारी प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी दुर्घटना अपराह्न १२ देखि साँझ ६ बजेसम्ममा हुँदै आएका छन् । त्यसपछि राति १२ बजेदेखि बिहान ११ बजेसम्म बढी दुर्घटना भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले सडकमा पूर्वाधार हुँदाहुँदै पनि दुर्घटना बढ्नुमा चालक बढी दोषी रहेको बताउनुभयो । उहाँले रोडसेफ्टी प्रोजेक्टअन्तर्गत विश्व बैंकले राजमार्गमा क्रस विकेट, रिफ्लेक्टेट मिरर राखेको जानकारी दिँदै उहाँले भन्नुभयो, सडकको भौतिक पूर्वाधार विकासमा मन्त्रालय गम्भीर ढंगले लागेको छ ।

सडक बोर्ड नेपाललाई बर्सेनि ४ अर्ब रुपैयाँ निकासा भएको छ । तीमध्ये ७० प्रतिशत सडक निर्माणका लागि र बाँकी ३० प्रतिशत मर्मतसम्भारका लागि खर्च गर्दै आएको छ, बाँकी चालकलाई अनुशिक्षण तालिम दिन क्षेत्रीयस्तरमा निर्देशन दिइसकेका छौं । लामाले लाइसेन्स वितरणमा कडाइ र दुर्घटनापछि हुने सजाय वृद्धि पनि दुर्घटना न्यूनीकरणको पहिलो खुड्किलो रहेको बताउनुभयो ।

ठूला दुर्घटना कहाँ र कति ?

गत वर्ष साउन, भदौ, असोज, फागुन र चैतमा भएका सवारी दुर्घटनामा थुप्रै सर्वसाधारणले ज्यान गुमाएका थिए । जसअनुसार साउनमा मात्रै धनकुटाको परेवादिन गाविसस्थित कोसी लोकमार्गमा बस दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । साउनमै मकवानपुर मनहरीमा बस एकापसमा ठक्कर खाँदा ९ जना र काभ्रेको देउरालीस्थित खहरेमा बसको अचानक स्टार्ट बन्द हुँदा बस पछाडि गुडेपछि भएको दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए।

त्यसैगरी, भदौमा नारायणगढ-मुग्लिन सडक खण्डस्थित कालीखोलामा बस दुर्घटना हुँदा २४ जनाले ज्यान गुमाएका थिए । तीव्र गतिमा हुइँकिएको बस अनियन्त्रित भएर नदीमा खसेको थियो । भदौमै अर्घाखाँची हंसपुर ठूलोपैरोस्थित कच्ची सडकमा जीप दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका थिए । असोजमा धादिङ आँखुखोलास्थित कच्ची सडकमा बस धस्सिएर खोलामा खस्दा १९ जनाको ज्यान गयो । त्यसैगरी,  फागुनमा जाजरकोटस्थित भेरिमालिका नगरपालिकास्थित बोहरागाउँ सिमी चौतारामा भएको बस दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिए । मोडमा बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको थियो ।

आव ०७१/७२  दुर्घटना संख्या – १४,१४४ मृत्यु – २,१३७ सख्त घाइते – ४,२८७ सामान्य घाइते – ११,७६९
आव ०७२/७३ दुर्घटना संख्या – १५,३४२ मृत्यु -२,१५०सख्त घाइते  -३,५८५ सामान्य घाइते – ११,०२३                                        आव ०७३/७४ दुर्घटना संख्या – १४,७०४ मृत्यु -२,१४२ सख्त घाइते – ४,३७४ सामान्य घाइते – १२,१११                                                                                    अन्नपूर्णपोष्ट बाट

LIVE TV