१३ असार २०७४, मंगलवार

मौन अवधि सुरु भइसक्दा पनि बाँकेमा प्रमुख राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचासंहिताविपरीत प्रचारप्रसार गरिरहेका छन् । मौन अवधि सुरु भएलगत्तै प्रचारप्रसारका सबै सामग्री हटाउनुपर्ने भए पनि प्रमुख दलले राखेका ब्यानर, झन्डा, तुल र पम्फलेट चोकचोकमा यत्रतत्र छन् ।

 

नेपालगन्ज नगरलाई नै कुरुप बनाउने गरी चुनाव चिह्न अंकित झन्डा र पार्टीका झन्डा टाँसेका क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्त अधिकारीले बताए । उनले सार्वजनिकस्थलमा चुनाव प्रचारप्रसारका सामग्री राख्न नपाइने कानुनी व्यवस्था भए पनि राजनीतिक दलले नेपालगन्जका सडक ढाक्ने गरी चुनाव चिह्न अंकित झन्डा झुन्ड्याएका बताए । ‘राजनीतिक दलले नेपालगन्जलाई कुरुप बनाउने गरी सडकमा झन्डा झुन्ड्याएका छन्,’ उनले भने ।

ठूला राजनीतिक दलले निर्वाचन आचासंहिताविपरीत नेपालगन्जका चोक र गल्लीमा उम्मेदवारको फोटासहितका ब्यानर र तुलसमेत टाँगेको अधिकारीले बताए । आचारहिताविपरीत ब्यानर र तुल टाङ्नेमा नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक अगाडि छन् ।

उनले आचारसंहितविपरीत टाँसेको र टाङ्गेका पोस्टर, ब्यानर, झन्डा र तुल हटाउन आग्रह गर्दासमेत नमानेको बताए । ‘निर्वाचन आचारसंहिताविपरीत टाँसेका पोस्टर, ब्यानर र तुल हटाउन रेडियो तथा पत्रिकामार्फत आग्रह गर्दासमेत सुनुवाइ भएको छैन, मौन अवधिमा हटाउने आशा गरेका छौँ,’ उनले भने ।

पर्खाल, सरकारी भवनमा समेत राजनीतिक दलले चुनावी सामग्री टाँसेको निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थलको ३ सय मिटरवरिपरि टाँसेका ब्यानर, तुल, पर्चा र पम्फलेट हटाउनुपर्ने ऐनमा व्यवस्था छ । मौन अवधिमा मतदानस्थलवरिपरि टाँसेका प्रचार सामग्री पनि हटाउनुपर्ने अधिकारीले जानकारी दिए । ‘मतदातालाई ठन्डा दिमागले सोच्ने समय दिएकाले मौन अवधिमा राजनीतिक दलले प्रचारप्रसार गर्न र प्रचार सामग्री हटाउनुपर्ने नियम बनाइएको हो,’ उनले स्पष्ट पार्दै भने ।

पानीको जारमा समेत चुनाव चिह्नको स्टिकर
नेपालगन्जको तुलनामा कोहलपुर नगरपालिका र अन्य गाउँपालिकामा आचारसंहिता उल्लंघन कम भएको क्षेत्रीय निर्वाचन प्रमुख अधिकारीले बताए । मतदानस्थलको अनुगमन गर्ने क्रममा गाउँपालिकामा आचारसंहिता उल्लंघटनका घटना कम देखिएको उनले बताए । खजुरा गाउँपालिकाको एक केन्द्रमा राखिएको पानीको जार र जगमा समेत दलको चुनाव चिह्नअंकित स्टिकर टाँसेको फेला परेको छ । उनले राजनीतिक दलले प्रचारको नाममा आफैँले बनाएको आचारसंहिता उल्लंघन गरिरहेका बताए । उनले भने, ‘चुनावअंकित स्टिकर टाँसेको देखेपछि पानी पिउन मनै लागेन ।’

नया पत्रिका बाट 

LIVE TV