१३ असार २०७४, मंगलवार

काठमाडौं कुलेश्वरकी एक महिलामा स्वाइन फ्लू देखिएको टेकु अस्पतालद्धारा पुष्टि, सरुवा रोग भएकाले सावधानी अपनाउन चिकित्सकहरुको सुझाव ।

 

काठमाडौंमा स्वाइन फ्लू देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले स्वाइन फ्लू देखिएको पुष्टि गरेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएकी काठमाडौं कुलेश्वर १६ की ३८ वर्षीया महिलामा स्वाइन फ्लू संक्रमण भएको पुष्टि भएको हो ।

खोकी, ज्वरो र सास फेर्न अप्ठारो भएर अस्पताल भर्ना भएकी उनमा इन्फ्लून्जा ए पिडिएम २००९ अर्थात स्वाइन फ्लू देखिएको टेकु अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालमा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । स्वाइन फ्लू बर्खाको सुरुवात र जाडोको अन्त्यतिर बढि देखिने गरेको छ ।

चिकित्सकका अनुसार लगातार रुघाखोकी लाग्ने, टाउको दुख्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने स्वाइन फ्लूको लक्षण हुन् । अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले स्वाइन फ्लूबाट बच्न सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।
स्वाइन फ्लू सरुवा रोग भएकोले सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्यूँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुरा सेवन गर्ने र स्वाइन फ्लूको शंका लागेमा बेलैमा स्वास्थ्य परिक्षण गराएर पनि यो रोग लाग्नबाट बच्न सकिन्छ ।

LIVE TV