१२ असार २०७४, सोमबार

चितवन । केन्द्रमा रहेका गिद्धले अण्डा पार्ने र बच्चा कोरल्न थालेपछि गिद्ध संरक्षणमा प्रभावकारी बनेको हो । केन्द्रमा रहेका १५ गिद्धले एकएक अण्डा पारेकामा नौवटाले बच्चा कोरलेको निकुञ्जले जनाएको छ ।

२०६५ सालमा १२ लाखको लागतमा स्थापित आधुनिक गिद्ध प्रजनन केन्द्रमा ल्याइएका गिद्धले चार वर्षपछि २०६९ मा पहिलो पटक अण्डा पारेका थिए तर तिनबाट बच्चा भने निस्केनन् । २०७० माघमा अण्डाबाट दुईवटा बच्चा निस्केकोमा एउटामात्र बाँच्न सफल भएको थियो । प्रजनन केन्द्रमा सुरुमा डंगर प्रजातिका गिद्धका १४ वटा बच्चा राखिएकोमा हाल ५७ बटा भएका छन् । नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, राज गिद्ध र सुन गिद्ध गरेर आठ प्रकारका गिद्ध पाइन्छन, यीमध्ये डंगर र सानो खैरो प्रजातिको गिद्ध लोप हुने अवस्था छ । निकुन्जको खोरमा हुर्केका ५७ गिद्ध मध्येबाट ६ वटा नमुना मध्यवर्ती सामुदायिक वन नवलपरासीमा राखिएको र बाँकी ५१ वटा प्रजनन केन्द्रमा रहेको निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालले जानकारी दिए ।

वेदबहादुर खड्काका अनुसार चार वर्ष भएपछि गिद्धले आफैं गुँड बनाएर कात्तिक–मंसिरतिर एउटा मात्रै अन्डा पार्ने गर्छ । कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु लगायतका ठाउँमा गिद्धको प्राकृतिक वासस्थनमा माउले बनाएको गुँडका बच्चा झिकेर प्रजनन केन्द्रमा ल्याइएको थियो । आमासँग बस्न नपाउँदा उनीहरुले धेरै कुरा सिक्न नपाएको र बच्चा कोरल्न पनि नजानेको केन्द्रका कर्मचारीको अनुमान छ । गिद्धको महत्व सर्वसाधारणलाई बुझाउन नसक्दा गिद्ध लोप हुने अवस्थामा पुगेको सुचना अधिकारी अर्यालले बताए । सरकारले प्रतिबन्ध लगाए पनि पशुको उपचारमा प्रयोग भइरहेको डाइक्लोफेनेक औषधिले गिद्ध नाश भएको अर्याल बताए ।

मरेका जनावर र कुहिएका पदार्थ खाने भएकाले गिद्धलाई प्राकृतिक कुचिकार भनिन्छ । तर, केही वर्ष यता यसको संख्या स्वात्तै घटेको छ । तसर्थ लोप हुनबाट जोगाउन राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण संघको सहयोगमा प्रजनन केन्द्र खोलिएको हो । प्रजनन केन्द्रमा रहेका गिद्धलाई एक वर्षपछि जंगलमा छाड्ने योजना छ ।

 

LIVE TV