१२ असार २०७४, सोमबार

काठमाण्डौ । १४ वर्षीया बालिका बलात्कारको अभियोग लागेका रामेछापका श्याम राउतलाई प्रहरीले पक्राउ गरेको छ । ५ वर्षदेखि फरार रहेका राउत भारतको अण्डमान निकोबार टापुबाट पक्राउ परेका हुन् ।

 

भारतीय प्रहरीसँगको समन्वयमा राउतलाई पक्राउ गरिएको हो । सोमबार प्रहरीले अभियुक्त राउतलाई सार्वजनिक गरेको छ । मध्यक्षेत्रीय कार्यालय हेटौंडा र अपराध महाशाखाको टोलीले राउतलाई पक्राउ गरी नेपाल ल्याएको हो । अभियुक्त राउत भारतमा रहेको सूचनाका आधारमा भारतीय प्रहरीसँगको समान्वयबाट पक्राउ गर्न सफल भएको मध्य क्षेत्रका प्रहरी नायव महानिरीक्षक गणेश केसीले जानकारी दिए ।

२०६८ माघ ५ गते रामेछाप सैंपुकीबाट हराएकी १४ वर्षिया सुन्तली तामाङको शब बलात्कारपछि हत्या गरिएको अबस्थामा १५ दिन पछि फेला परेको थियो । छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमाया तामाङले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन ।

रामेछापका तत्कालीन प्रहरी प्रमुख सञ्जीव शर्माले अनुसन्धान नै नगरी राउतलाई हाजिरि जमानीमा छाडेपछि यो प्रकरण सतहमा आएको थियो । अभियुक्तको पक्राउ पछि आफूहरुले न्याय पाएको सुन्तलीकी आमा डिल्लीमाया तामाङ बताएकी छन् ।

अभियुक्त छुटेसँगै सुन्तलीको परिवारले पीडकको धम्की सहँदै आउनुपरेको थियो । उनीहरु विस्थापित नै हुनुपरेको थियो । अभियुक्त छाडेको समाचार सार्वजनिक भएपछि तत्कालिन जिल्ला प्रहरी प्रमुख शर्मालाई प्रहरी हेडक्वार्टर तानेको थियो ।

LIVE TV