तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण त्यहाँ जाने कामदारको संख्यामा गिरावट आएको हो।
रोजगारीका लागि कतार जाने तयारी अवस्थामा बसेको युवा पनि पर्ख र हेरको अवस्थामा छन् । पछिल्लो समय नेपालीका युवाका लागि कतार पहिलो गन्तव्य बनेको थियो । केही महिनासम्म मासिक १२ हजारको संख्यामा युवा रोजगारीकै लागि कतार पलायन भइरहेका थिए । कतारमाथि अन्य खाडी मुलुकले लगाएको नाकाबन्दीसँगै त्यहाँ जानेको संख्यामा गिरावट आएको हो ।
वैदेशिक रोजगार विभाग काठमाण्डौकार्यालयका अनुसार जेठ ९ गतेदेखि असार ९ गतेसम्म कतारका लागि आठ हजार दुई सय ३७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यो संख्या अहिलो महिनाको तुलनामा चार हजारभन्दा बढीले कम हो । यो सामान्य अवस्थाभन्दा ४० प्रतिशत कम हो । कार्यालयका अनुसार जुन ५ भन्दाअघि सरदर दैनिक चार सय कामदारले अन्तिम श्रम स्वीकृति लिन्थे ।
रमजानका कारण पनि केही घटेको हुन सक्ने कार्यालयका प्रमुख तेजेराज पाण्डेको अनुमान छ । अरब देशमा रमजानको महिना पूरै जस्तो काम ठप्प हुन्छ । कार्यालयका अनुसार पछिल्लो एक महिनामा कतारबाट नयाँ माग आउन सकेको छैन । सबै पुरानो मागमा युवा अहिले कतार गइरहेका छन् ।
मलेसिया, दुबई र साउदी अरबमा आएको आर्थिक संकट तथा आन्तरिक समस्याका कारण नेपाली रोजगारीको अवसर गुमाउन पुगेको थिए । कतारले सन् २०२२ मा सञ्चालन हुने विश्वकप फुटबलको तयारीसँगै निमार्णमा तीव्रता दिँदा रोजगारीको अवसरका बढेको थियो । नेपालबाट अहिलेसम्म १२ लाखभन्दा बढी युवाले कतार जान अन्तिम श्रम स्वीकृत लिइसकेका छन् । पाँच लाखभन्दा बढी युवा अहिले कतारमा काम गरिरहेका छन् ।