१२ असार २०७४, सोमबार

भरतपुर । नारायणगढ-मुग्लिन सडक पुनर्निर्माणको काम पहिलो पटकको सम्झौताअनुसार २०१७ को अप्रिलमा सकिसक्नुपर्ने थियो । विभिन्न कारण देखाउँदै दोस्रो पटक सम्झौता गरियो । सम्झौताअनुसार डिसेम्बर २१ मा काम सकिनुपर्नेछ । तर, अहिलेसम्मको कामको अवस्थाले समयमा काम पूरा हुने देखिँदैन । योजनाअनुसार १७ प्रतिशत ढिलाइ भएको छ ।

निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्मनीले सम्झौता भएअनुसार यो अप्रिल महिनासम्म काम सक्नुपर्ने थियो । तर, अहिले ५१ प्रतिशत मात्र काम भएको छ । नाकाबन्दीको कारण देखाउँदै आठ महिना थप गरियो । सडक निमार्णका लागि तीनवटा कम्पनीले जिम्मा पाएका छन् । आँपटारीदेखि दासढुङगासम्म ५० प्रतिशत काम भएको छ । यो बेलासम्म ६१ प्रतिशत काम हुनुपर्ने थियो । यो खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । चार किलोमिटरमा पहिलो तहको कालोपत्रे गरिएको विसिए, एससिसी जेभीका कन्ट्राक्ट म्यानेजर प्रभु जोशीले बताउनुभयो ।

ठेकेदार कम्पनीले आवश्यक जनशक्ति परिचालन नगरेको स्थानीयको आरोप छ । दासढुंगादेखि सिमलतालसम्मको दोस्रो खण्डमा पाँच सय मिटर कटान गर्न अझै बाँकी छ । उक्त खण्डमा २० प्रतिशत काम ढिलाइ भएको छ । ८६ प्रतिशत काम गर्नुभए पनि त्यसअनुसार काम भएको छैन । सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खण्डमा ५९ प्रतिशत काम हुनुपर्ने भए पनि ४७ प्रतिशत काम सम्पन्न भएको छ । वर्षा र पहिरोको समस्याले काममा ढिलाइ भएको सुप्रिम चौताहाका जेभीका प्रतिनिधि धर्म धापले बताउनुभयो ।

लगातारको पहिरोले काम गर्न नपाएपछि कामदार पानी बेच्न थालेका छन् उहाँले भन्नुभयो, लगातार काम नहुने भएकाले कामदार टिकाउनै गाह्रो छ । सो क्षेत्रमा सय मिटर चट्टान गर्न अझै बाँकी छ । सडक आयोजनाका लागि दुई पटकसम्म म्याद थपिएको हो । त्यसअनुसार काम सम्पन्न हुने सम्भावना नभएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो ।  एकातिर वर्षा र पहिरो अर्कोतिर हजारौँ गाडीलाई व्यवस्थित गरेर काम गर्न निकै कठिनाइ छु, खनालले भन्नुभयो, बाँकी ६ महिनामा वर्षा र चाडपर्व पनि परेको हुनाले समयमा काम सकिनेमा विश्वास छैन ।

आयोजनाले कामको अनुगमन र निगरानी गर्ने काम गरेको छ । त्यो अवधिसम्म ७० प्रतिशत मात्र काम पूरा हुने अनुमान गरिएको छ । पहिलो पटक १ सय ३० देखि १ सय ५० दिन सम्झौता अवधि थपिएको हो । दोस्रो पटक ९० देखि सय दिन थपिएको हो । अहिले फेरि ८१ दिनसम्मको म्याद थप्न निर्माण कम्पनीले सिफारिस गरेका छन् । बिहान १० बजेदेखि ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर काम गरिएको छ । पहाडका चट्टान झरेपछि पहिरोको जोखिम बढेको हो ।

नारायणगढ-मुग्लिन सडकका २९ स्थानलाई पहिरोको जोखिम मानिएको छ । तीमध्ये जलबिरेदेखि मुग्लिनसम्म बढी छ । पछिल्लो समय पहिरोको कारण सडक अवरुद्ध हुने भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले चासो दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यात्रुले दुःख नपाउने वातावरण बनाउन आग्रह गर्नुभयो । बाटो बनेर सुविधा हुने एउटा पाटो भयो, यहाँ मान्छेको ज्यानै जोखिममा छु, प्रजिअ भट्टले भन्नुभयो जनशक्ति र उपकरण कति थप्नुपर्ने हो थप्नुस् तर जनताले दुःख पाउनुभएन ।

तीन दिनभित्र यातायात नरोकी काम गर्ने उपाय खोजी गर्न भट्टले निर्देशन दिनुभएको छ । २०७१ चैत ९सन २०१५ अप्रिल० बाट नारायणगढ-मुग्लिन सडकको स्तरोन्नतिको काम सुरु भएको हो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत पनि सञ्चालित नारायणगढ-मुग्लिन सडक आयोजना हो । सन २०१७ अगस्टसम्म सक्ने लक्ष्यसाथ सडक निर्माणको जिम्मा ३ वटा कम्पनीले लिएका छन् । जसअन्तर्गत आँपटारीदेखि दासढुंगासम्म बिएलए एससिसी जेवी, दासढुंगादेखि सिमलतालसम्म उडहिल लामा जेवी र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम रौता जेवीले लिएको छ ।

सडक २ लेनको हुने सडकको निर्माण लागत २ अर्ब ९० करोड हो । ०३६ सालमा चीन सरकारको सहयोगमा गोरखा-नारायणगढ सडकको नाममा निर्माण गरिएको यो सडकमा सन २०१४/१५ को तथ्यांकअनुसार दैनिक ७ हजार ३ सय ३७ सवारीसाधन गुड्छन् । अहिले सडक साँघुरिए पनि सवारी साधनको चाप उच्च छ । अहिले दैनिक ८ हजारभन्दा बढी गाडी गुड्ने गरेका छन् । अन्नपूर्णपोष्ट बाट

LIVE TV