१२ असार २०७४, सोमबार

तेल उठाउन गएका १२८ सर्वसाधारणको मृत्यु

—पाकिस्तानको पन्जाब प्रान्तमा तेल बोकेको ट्यांकर सडकमा पल्टिएको थाहा पाएपछि राजमार्गनजिकका गाउँले ग्यालिन, बाल्टी, गाग्रोलगायतका भाँडा बोकेर तेल उठाउन पुगे ।

—तर, घटनास्थलमा आगो सल्किँदा तेल उठाइरहेका एक सय २८ सर्वसाधारणको जलेर मृत्यु भएको छ ।

—तेल उठाउन लगिएका ६० मोटरसाइकल र ६ कार पनि जलेर ध्वस्त भएका छन् ।

—आगलागीको कारण खुलेको छैन । दुर्घटनास्थलमा कसैले फालेको चुरोटको ठुटाबाट आगो सल्केको प्रारम्भिक अनुमान छ ।

पोखिएको तेल उठाउने मानिसमा सल्कियो आगो

पाकिस्तानको पूर्वी–पन्जाब प्रान्तको एउटा तेल ट्यांकर दुर्घटनापछि लागेको आगलागीमा कम्तीमा १२८ जनाको जलेर मृत्यु भएको छ । आइतबार बिहान भएको सो आगलागीमा एक सयभन्दा बढी घाइते भएका छन् ।

आगलागीपछि विस्फोट

४० हजार लिटर तेल बोकेको ट्यांकर कराँचीबाट लाहोर जाने क्रममा राजमार्गको एउटा घुम्तीमा पल्टिएको थियो । पल्टिएपछि चुहिएको पेट्रोलमा आगो सल्किएको र केही बेरमै ट्यांकर विस्फोट भएको थियो । विस्फोट हुँदा सयौँको संख्यामा जम्मा भएका भीडले पोखिएको तेल संकलन गरिरहेका थिए । विस्फोटपछि भागदौड हुँदा एकजनामा सल्किएको आगो अरूमा फैलिएको थियो ।

४० जना चिन्नै नसक्ने

आगोको लप्काले तेल संग्रह गर्न पुगेका मानिस जलेका थिए । जलेकामध्ये ४० जनाको अनुहार चिन्नै नसक्ने अवस्थामा रहेको पाकिस्तानी समाचार संस्था डानले जनाएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने पन्जाब प्रान्तको बहालपुरमा रहेको एक सरकारी अस्पतालका चिकित्सक डा।अरुन्जेबले जानकारी दिए ।

अनुसन्धान गर्न निर्देशन

प्रधानमन्त्री नवाज सरिफले घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘ट्यांकर दुर्घटनापछि फैलिएको आगलागीमा निर्दोष मानिसको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्छु,’ प्रधानमन्त्री सरिफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घटनाको तत्काल अनुसन्धान गर्न पनि उनले सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । पन्जाबका मुख्य मन्त्री सहाबज सरिफले घटनाबारे तत्काल अनुसन्धान गरी प्रतिवेदन पेस गर्न स्थानीय अधिकारीलाई निर्देशन
दिएका छन् ।

तीन घन्टामा निभ्यो आगो

तीन घन्टा लगाएर सो आगो निभाइएको स्थानीय दमकल विभागका एकजना कर्मचारीले बताए । सो सडक बस्तीभन्दा केही पर रहेकाले बस्तीमा आगो सल्किनबाट जोगिएको छ । आगलागीका कारण त्यहाँ रहेका झन्डै ७५ वटा मोटरसाइकल र ६ वटा गाडी जलेर ध्वस्त भएका छन् । तेल पोखिएको खबर सुनेर कतिपय मानिस तेल भर्न मोटरसाइकल, ट्याक्सी र जीप नै लिएर गएका थिए ।

तेल पोखिएको थाहा पाएपछि भिड

तेल पोखिएको खबर थाहा पाएपछि महिला र बालबालिकालगायत ठूलो संख्यामा रहेका मानिसहरू ग्यालेन, बाल्टी, गाग्रीलगायत आफूहरूसँग उपलब्ध सामग्री बोकेर दुर्घटनास्थलमा दौडिएका थिए । ‘रमजानपुर गाउमा ट्यांकर पल्टिएको खबर थाहा पाएपछि सयौँ मानिस तेल उठाउन दगुरेका थिए,’ एक प्रहरी अधिकारीको भनाइ उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डानले जनाएको छ । ट्यांकर दुर्घटना भएको १० मिनेटपछि ट्यांकर विस्फोट भएको थियो । पोखिएको तेल उठाउन आएकामध्येकै कसैले पिउँदै गरेको चुरोटको ठुटो फाल्दा आगलागी भएको हुन सक्ने स्थानीय सञ्चारमाध्यमहरूले अनुमान गरेका छन् । नयाँ पत्रिकाबाट

LIVE TV