१० जेष्ठ २०७४, बुधबार

काठमाडौं । हरेक मुलुकका लागि त्यो देशको राष्ट्रप्रमुख वा कार्यकारीको आगमन वा वहिर्गमन कति अर्थपूर्ण र सम्मानजनक हुन्छ भन्ने विषयले गम्भीर अर्थ राख्दछ । बिभिन्न आरोप, चुनौती र अवसरहरुको भीडबाट प्रधानमन्त्रीकारुपमा १० महिनाअघि सिंहदरवार पुग्दा नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि विश्वास भन्दा बढी शंकाको वादल मडारिएको थियो ।

बिभिन्न निर्णयले विवादास्पद बनेको दाहालको अघिल्लो कार्यकालको छायाँले पनि होला, सर्वसाधारणले पनि दाहालको प्रधानमन्त्रीकाल त्यति नरुचाउने आंकलन गरिएको थियो ।

तर, आफूले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्दै प्रमुख सत्ता साझेदार दलसंगको भद्र सहमतिको पालना गर्दै बुधवार दाहाल सम्मानजनक ढंगले सिंहदरवारबाट बाहिरिनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार देशबासीका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो । सम्बोधनका क्रममा उहाँले आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी व्यक्त गर्नुभयो ।

साथै, उहाँले मुलुकमा लोडसेडिङ अन्त्य, आर्थिक बृद्धि हासिल, स्थानीय तह निर्वाचनको सफलता, छिमेकीहरुसंगको सम्बन्ध सुधार लगायतका कारण पनि आफ्नो कार्यकाल सफल भएको दावी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले संसदमै सम्बोधन गरेर राजीनामा दिन चाहेपनिस्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि संसदबाट राजीनामा दिने इच्छा भने अधुरै रहेको थियो । राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको भन्दै उहाँले दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका थुप्रै उदाहरण भएको स्मरण समेत गराउनुभयो ।

प्रधानमन्त्री बन्नुअघि दाहालसंग १० महिना पहिले धेरै चुनौती र अप्ठेराहरु थिए नै । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर आफू प्रधानमन्त्री बन्दा एमाले अध्यक्ष ओलीलगायत एमाले नेताहरुले दाहालमाथि दर्जनौं प्रश्नहरु तेस्र्याएका थिए ।

तर, दाहालले प्रधानमन्त्री भएको १० महिनापछि ओलीले सोधेको प्रश्न मात्र सम्झिनुभएन, जवाफ पनि दिनुभएको छ ।
सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोस र छटपटीको परम्परा तोड्दै दाहालले राजनीतिक इमान्दारितासहित राजीनामा दिनुभएको छ ।

दाहालको सिंहदरवार वहिर्गमनले वेटिङ प्राइम मिनिष्टरकारुपमा रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई त सहज बनाएको छ नै, आगामी दिनमा माओवादी केन्द्र र पुष्पकमल दाहालप्रतिको आम दृष्टिकोणमा पनि सुधार हुने देखिएको छ ।

 

LIVE TV