१० जेष्ठ २०७४, बुधबार

प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान २२ वटा स्थानीय तह थप गर्ने सरकारको निर्णय र बजेटको विषयमा छलफल गर्न तीन दलको बैठक बोलाएका थिए । प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल चलिरहँदा बैठकमा पुगेका एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत स्थानीय तह थपिएको भन्दै आपत्ति जनाए । ओली यत्तिमै रोकिएनन् । उनले निर्वाचनको मुखमा प्रचण्डले छाडेर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बन्न किन हतारो भन्दै प्रश्न पनि गरे । ‘निर्वाचनको आचारसंहिता लागू भएको यस्तो वेला प्रचण्डजीलाई छाड्न र शेरबहादुरजीलाई प्रधानमन्त्री बन्न किन हतारो हो रु’ ओलीले दुई नेतालाई तीखो प्रश्न गरे ।

ओलीको प्रश्नले देउवा आक्रोशित बने । दुई दलबीचको भद्र सहमति र सत्ता गठबन्धनको विषयमा किन धेरै चासो लिएको भन्दै उनले ओलीको प्रतिवाद गरे । ‘हामीबीच सहमति छ र म प्रधानमन्त्री बन्छु भने तपाईंलाई किन अप्ठ्यारो रु’ ओलीको प्रश्नजस्तै देउवाको रुखो जवाफ थियो । दुई नेताबीचको भनाभनले बैठक नै प्रभावित बन्यो । दिउँसो पुनः छलफल गर्ने गरी बैठक टुंगियो । त्यसलगत्तै एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा पनि सरकार फेर्ने र स्थानीय तहको संख्या थप्ने विषयमा ओलीले आपत्ति जनाए । संसद् भवन नयाँ बानेश्वरमा भएको तीन दलको बैठकमा पनि ओली आक्रामक शैलीमा प्रस्तुत भए ।

दोस्रो निर्वाचनसम्म नकुर्ने ‘मुड’मा देउवा
पार्टीभित्रै बाट दोस्रो चरणको निर्वाचनसम्म प्रधानमन्त्रीका लागि हतार नगर्न दबाब परे पनि कांग्रेस सभापति शेरबहादुर देउवा तत्काल प्रधानमन्त्रीको राजीनामाको पक्षमा छन् । उनीनिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार दोस्रो चरणको निर्वाचन कुर्ने ‘मुड’मा देउवा छैनन् । ‘सभापति पनि दोस्रो चरणको निर्वाचनपछि मात्र प्रचण्डबाट राजीनामा आउनुपर्छ भन्ने पक्षमा हुनुहुन्न,’ कार्कीले भने । सरकार परिवर्तन हुँदा बजेट ल्याउन र निर्वाचनलाई कुनै असर नहुने देउवाको बुझाइ छ ।

आज के हुन्छ संसद्मा ?

प्रधानमन्त्री प्रचण्डले बुधबारको संसद् बैठक अवरोध भए राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने योजना बनाएका छन् । ‘सदनलाई जानकारी गराएर सम्बोधनसहित राजीनामा प्रधानमन्त्रीको पहिलो विकल्प हो, तर त्यसो नभए मिडियासमक्ष आफ्ना भनाइ राखेर राजीनामा दिनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले भने ।

स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिए एमालेले बुधबारको संसद् बैठक अवरोध गर्ने तयारी गरेको छ । ‘हामीले प्रस्ट भनेका छौँ, संख्या थप्ने निर्णय फिर्ता लिनुस्, अवरोध गर्दैनौँ’, नेम्वाङले भने ।

कांग्रेसले बुधबार संसद्मा प्रक्रिया अघि बढ्ने जनाएको छ । ‘प्रधानमन्त्रीले राजीनामा दिने वचनबद्धता गरिसक्नुभएको छ । अब संसद्मा बुधबार प्रक्रिया अघि बढ्छ,’ कांग्रेस नेता डा। रामशरण महतले भने ।

LIVE TV