१० जेष्ठ २०७४, बुधबार

प्रधानमन्त्रीको मंगलबारको डायरी

प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बजेटका विषयमा समझदारी बनाउन प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र तथा योजना आयोगका उपाध्यक्ष, अर्थसचिव, अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखको बैठक बालुवाटारमा बोलाएका थिए । तर, सो बैठकमा एमाले अध्यक्ष केपी ओली साढे एक घन्टा ढिलो गरी पुगे । एमाले नेताहरू माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे पहिल्यै पुगिसकेका थिए । ओली बैठकमा ढिलो पुग्दा प्रधानमन्त्रीले बिहान १० बजेका लागि बोलाएको मन्त्रिपरिषद् बैठक १ बजेसम्मका लागि स्थगित गरे ।

प्रधानमन्त्रीले ११ बजेबाट कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरे । स्थानीय तहको संख्या थप र निर्वाचनको मुखमा सरकार परिवर्तनको विषयमा एमालेले आफ्नो चर्को असहमति बैठकमा जनायो । त्यसपछि प्रधानमन्त्रीले कहिले देउवासँग, कहिले ओलीस“ग बिहान ११ बजेदेखि दिउँसो १२ः४५ बजेसम्म पटक–पटक द्विपक्षीय र संयुक्त छलफल गरे ।

बालुवाटारमै ओली–प्रधानमन्त्रीबीचमा भएको द्विपक्षीय छलफलमा भने संसद्मा एमालेले सामान्य विरोध जनाएको जस्तो गर्ने, तर प्रधानमन्त्रीलाई सम्बोधन गर्ने भन्ने समझदारी पनि भएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । तर, देउवा र ओलीबीच चलेको चर्काचर्कीले एमाले आक्रामक बनेको थियो ।

तीन दलको बैठकमा कुनै सहमति नजुटेपछि एमाले नेताहरू बैठकबाट बाहिरिएका थिए भने प्रधानमन्त्री दिउँसो १ बजेबाट मन्त्रिपरिषद्को बैठकमा सहभागी भए । प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट केही निर्णय गराए । उनले आफूले ३ बजे संसद् बैठकबाट राजीनामा दिन लागेको भन्दै मन्त्रीहरूलाई धन्यवादसमेत दिएका थिए । त्यसपछि प्रधानमन्त्रीसहित मन्त्रीहरूले केहीबेर सामूहिक फोटोसेसन गराए ।

मन्त्रिपरिषद्को बैठकपछि दिउँसो ३ बजे प्रधानमन्त्री संसद्मा सम्बोधनका लागि संसद् भवन बानेश्वर पुगे । तर, एमालेले संसद् अवरोध गर्ने बताएपछि र एमाले अध्यक्षसमेत संसद्मा नदेखिएपछि प्रधानमन्त्री आफैँले ओलीलाई फोन गरी छलफलका लागि संसद् भवनमा बोलाएका थिए । तर, ओली झन्डै साढे २ घन्टासम्म पनि संसद् भवनमा पुगेनन् । ओलीले आफू सम्पादकहरूसँगको छलफलमा व्यस्त रहेको भन्दै आउन ढिलाइ हुने जानकारी दिएका थिए ।

ओली संसद् भवन पुगेपछि सभामुखको पहलमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा समेत एमालेले स्थानीय तहको संख्या थप गरेको विषयमा निरन्तर आपत्ति जनाइरहे । बैठकमा कुनै निष्कर्ष नै ननिस्केपछि बुधबार बिहान पुनः बैठक बस्ने भन्दै प्रधानमन्त्री आफ्नो राजीनामापत्र बोकेरै बालुवाटार फर्के ।

LIVE TV