९ जेष्ठ २०७४, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दोस्रो चरणको निर्वाचनपछि मात्र राजीनामा दिन आग्रह गरेको छ । पदबाट राजीनामा दिने तयारी गरेका प्रधानमन्त्री दाहाललाई १५ दिन कुर्न एमालेले आग्रह गरेको हो ।


प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले दोस्रो चरणको निर्वाचन आउन तीन सातामात्र बांकी रहेका समय प्रधानमन्त्रीको राजीनामाले तयारीमा असर गर्ने भन्दै तत्काल राजीनामा नदिन आग्रह गरेको हो ।

उनले सरकार परिवर्तनका लागि हतारो नगर्न सत्तारुढ प्रमुख दुई दलका शीर्ष नेतालाई आग्रह पनि गरे । प्रधानमन्त्री दाहालको राजीनामा पछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने चर्चासँगै निर्वाचनको तयारी, मधेश केन्द्रित दलहरुको माग लगायत समेत प्रभावित हुने ओलीको भनाई छ ।

स्थानीय तहको संख्या थप्ने निर्णयको बिरोधमा संसद चल्न नदिने अडानमा रहेको एमालेलाई सहमतिमा ल्याउन संसद भवनमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।

LIVE TV