
- दीपक भट्ट,
रामेछाप । खानेपानीको चरम अभावका कारण खोलामा वगेको प्रदुषित पानी खाँदा रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका एकसय भन्दा वढी विरामी परेका छन् । प्रदुषित पानी खाएकै कारण रामेछाप वजारमा रहेको गंगालाल एकेडेमी वोर्डिङ्ग स्कूलमा अध्यनरत वालवालीकाहरु भकाभका विरामी पर्न थालेपछि विद्यालय प्रशासनले विद्यालय पाँच दिनको लागि वन्द गराएको छ ।
प्रदुषित पानी पिएकै कारण रामेछाप ८ लामागाउँका १ सय भन्दा वढी विरामीहरु उपचारको लागि अस्पतालमा भर्ना भएका छन् । पानी खाएका वालवालिका देखी बृद्धबृद्धासम्मलाई झाडापखाला लाग्ने, टाउँको दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने जस्ता लक्षणहरु देखापरेपछि विरामीहरु उपचारको लागि अस्पतालमा भर्ना जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.प्रकाशप्रसाद शाहले जानकारी दिनुभयो ।
शाहका अनुसार जिल्ला अस्पतालमा १५ वेड क्षमता भएता पनि विरामीको चाप अत्याधिक मात्रामा भएकाले हामीले भुईमा म्याटे«स राखेर विरामीलाई उपचार गराइरहेको बताए ।
प्रदुषित खानेपानीका कारण आइतवारदेखि विरामीहरु आउन थालेपनि सोमवार विरामीको संख्या एकै दिन ५० भन्दा माथी पुगेपछि जिल्ला अस्पताल रामेछापवाट चिकित्सक सहितको टोलीले लामागाउँमा पुगेको थियो ।
टोलीले पानीको मुहान र ट्याकीं निरिक्षण गरेर त्यहाँको पानी परिक्षणको लागि स्वास्थ्य मन्त्रालय महामारी शाखा काठमाण्डौंमा पठाएको छ । महामारी फैलन नदिनको लागि व्यापक रुपमा जनचेतनाको लागि सन्देशहरु प्रभाव गरेको र आवश्यक मात्रामा औषधीहरु समेत वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापका प्रमुख डा. प्रकाशप्रसाद शाहले बताए ।
खानेपानीको अन्यत्र वैकल्पीक व्यवस्था नहुँदा रामेछाप ८ लामागाउँका २१ घरधुरीले नजिकै रहेको खिरेपानी खोलावाट पोलिथिन पाइप मार्फत लामागाउँमा रिजर्भ ट्याकीं निमार्ण गरी त्यहीवाट खानेपानी वितरण हुदै आएको छ ।
केही दिन अघि व्यापक रुपमा वर्षा भएसँगै पुरानो सदरमुकाम रामेछाप डाँडादेखी गएको लेदोभल खोलामा मिसीएको पानी लामागाउँका उपभोक्ताहरुले प्रयोग गर्न बाध्य भएको स्थानीयको भनाई छ । अहिले लामा गाँउको अधिकांश विरामी भएको र केही उपचारपछि फर्केको तथा कोही अस्पतालमै उपचार गरिरहेको उपचारत स्थानीय अर्जुन खड्गीले बताए ।
खानेपानीकै कारण रामेछापमा रहेको गंगालाल एकेडेमी वोडिङ्ग स्कूलमा अध्ययनरत वालवालीकाहरु ४० भन्दा वढी विरामी परेपछि विद्यालय प्रशासनले ५ दिनको लागि विद्यालय वन्द गराएको गंगालाल एकेडेमी स्कूलका प्रध्यानध्यापक प्रमात्मा श्रीवास्तवले जानकारी दिए ।
रामेछापको माथिल्लो बजार तथा पूरानो सदरमुकाममा पानीको मुल नभएका कारण पानीको समस्या बर्षौदेखि झेल्दै आएका छन् । स्थानीयले खोला तथा कोसीबाट पम्पीङ सिस्टमबाट पानीको जोहो गर्दै आएका छन् भने कतिपयले स्थानीय खहरे तथा खोलाको दुषित पानी पिउन बाध्य हुदै आएका छन् ।