९ जेष्ठ २०७४, मंगलवार

काठमाडौं । नेकपा एमालेले सरकारले स्थानीय तहको संख्यामा बृद्धि गरेकोमा आपत्ति जनाएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएर दोश्रो चरणको निर्वाचनमा मुलुक होमिएको समयमा स्थानीय तह थप गर्ने सरकारी निर्णय गलत भएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा एमालेले सरकारले प्रतिपक्षसँग छलफल नै नगरि एकल ढंगमा स्थानीय तह संख्या बढाइएको भन्दै आक्रोश व्यक्त गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलले निर्वाचनको समयमा स्थानीय तहको संख्या थपेर गलत गरेको दावी गरे । निर्वाचनकै समयमा बजेट ल्याउने, स्थानीय तह बढाउने घटाउने भन्नेमा संवैधानिक तबरले विधि र प्रक्रियामार्फत जानुपर्नेमा नगईकन कानुन विपरित काम गरेको आरोप लगाए ।

त्यसैगरि बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले प्रतिपक्ष दलको आरोप खण्डन गर्दै सरकारले निर्वाचन आचारसंहिता नतोडेको स्पष्ट पारे । उनले निर्वाचन आचारसंहितामा रहेर नै बजेट ल्याउनेमा ढुक्क हुन प्रतिपक्ष दललाई आग्रह समेत गरे ।

यता स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले असन्तुष्ट रहेका राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई थप मजबुत बनाउने भएकाले स्थानीय तहको संख्यामा बृद्धि गरिएको बताए ।

सरकारले सोमबार मधेश केन्द्रित दलहरुको माग अनुरुप ७ नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको थियो ।

LIVE TV