९ जेष्ठ २०७४, मंगलवार

काठमाडौँ । विदुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सञ्जु पण्डितले विदुर नगरपालिकामा साबिकका छ गाविस थपिएको तथा पहाडी र ग्रामीण क्षेत्र धेरै समेटिएकाले यसलाई समानुपातिक रुपमा विकास गराउनका लागि दीर्घकालीन योजनाको खाँचो औँल्याउनुभएको छ ।


नेकपा(एमाले)का तर्फबाट नगर प्रमुखमा विजयी भएपछि रासससँग कुरा गर्दै उहाँले नगरलाई विकास गर्न अल्पकालीन योजना सडक, ढल, खानेपानी र दीर्घकालीन योजनाका लागि विज्ञहरु ल्याएर गुरुयोजना बनाइने जानकारी दिनुभयो । त्रिशूली जलविद्युत् गृहलाई नगरको अधिकारमा ल्याउने, प्राकृतिक स्रोत ढुङ्गा बालुवा, खनिज, जडीबुटीको उपयोग गरी आयआर्जन बढाउने तथा नगरमा चार लेनको सडक– साइकल लेन– पैदल लेन बनाउने योजना पनि उहाँले उल्लेख गर्नुभयो ।

भूकम्पका कारण नगर क्षेत्रका ऐतिहासिक सम्पदाको बेहाल भएको र इतिहासलाई जीवन्त राख्नका लागि ती सम्पदाको संरक्षण गर्न नगरपालिकाले प्राथमिकतामा राखेको बताउँदै उहाँले नुवाकोटको साततले दरबार क्षेत्रको पुनःनिर्माणमा चिनियाँ सरकारको चासो रहेको सुनिएकाले त्यसमा के प्रगति भएको छ भन्ने खोजी गर्ने र अर्को आवदेखि हामी ऐतिहासिक सम्पदा संरक्षणका लागि आफ्नो स्रोतको पनि परिचालन गरिने जानकारी दिनुभयो ।

“पर्यटकलाई तान्ने विदुर नगर क्षेत्रमा यिनै ऐतिहासिक सम्पदा नै हुन् । पर्यटकलाई यहाँसम्म आउने र आएर एक रात भने पनि राख्नका लागि के केमा सुधार गर्नुपर्छ, विज्ञसँग बसी योजना बनाएर कार्यान्वयन गर्नेछौंँ । हामी ऐतिहासिकस्थललाई प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धनमा पनि ध्यान दिनेछौंँ ”, उहाँले भन्नुभयो । त्रिदेशीय पारवहन विन्दुका रुपमा विदुर नगरपालिकाले केरुङ–गल्छी राजमार्गबाट उपलब्धि लिनुपर्नेमा जोड दिँदै निर्माण व्यवसायी पनि रहनुभएका पण्डितले उद्योगधन्दा खोल्नका लागि उद्यमीलाई हौसला दिने, लगानीका लागि आह्वान गर्ने तथा उद्योग सञ्चालन गरी युवालाई रोजगारी सिर्जना गर्ने योजना सुनाउनुभयो ।

विशेष गरी त्रिशूली, बट्टारलगायत व्यस्त बजारलाई व्यवस्थित र सुन्दर बनाउन नगरवासीले पनि नगरपालिकाको योजनालाई साथ दिनुपर्छ भन्दै उहाँले पछिल्लो समय बढेको सवारी चापलाई व्यवस्थित गर्न नदी किनारबाट बाइपास सडक बनाउन अध्ययन गरिने जानकारी दिनुभयो ।

व्यवस्थित र उपभोक्तामैत्री बजार बनाउन नगरपालिकाले आफ्नो अधिकार प्रयोग गरी उपभोक्तालाई गुणस्तरीय खाद्यलगायत अन्य सामग्रीको सहज उपलब्धताका लागि पहल गरिने बताउँदै स्नातक पण्डितले यी सब काम गर्न कार्यविधि तथा आवश्यक ऐननियम तर्जुमा गरिने बताउनुभयो । “विदुर नगरलाई वास्तविक रुपमा नगर बनाउन गर्नुपर्ने सबै काम योजनाबद्ध हिसाबले गर्नेछौंँ, भूकम्पपीडितलाई तत्काल अनुदान दिलाउँछौँ र अनुदानबाट वञ्चितको वास्तविक समस्या खोज्छौँ”, उहाँले भन्नुभयो । रासस

LIVE TV