
काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना सुरू भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मत गणना पचास प्रतिशतभन्दा बढी सकिएको छ ।
सोमबारदेखि सुरू गरिएको मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताउनुभयो । कुल दुई लाख ७९ हजार ३१६ मतदाता रहेको कामपामा करिब ७३ प्रतिशत ९एक लाख ७२ हजार ६८३० मत खसेको थियो । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा निर्वाचन कार्यालयले १३ स्थानमा गणना गरिरहेको छ ।
दैनिक चौबिसै घन्टा गणना गरे पनि मतपत्र ठूलो भएकाले मत गणनामा ढिलाइ भएको छ । ठूलो मतपत्रका कारण एउटा मतपत्र गणना गर्न कम्तीमा तीन मिनेट लाग्ने गरेको छ । बिहान ७ देखि साँझ ६ बजेसम्म एक समूह र साँझ ६ देखि बिहान ६ बजेसम्म अर्को समूहले मतगणना गरिरहेका छन् । अहिले दैनिक १५ देखि २० हजार मतगणना भइरहेकामा सकिन अझै पाँच दिन लाग्ने अनुमान गरिएको छ । अब ७६ हजार २४२ मतगणना गर्न बाँकी छ । पहिले तीन ठाउँमा मात्र गणना गरिएकामा ढिलाइ भएपछि थप स्थानमा मतगणना गरिएको हो । बत्तीस वडा रहेको महानगरपालिकामा अहिलेसम्म १३ वटा वडाको मात्र मत गणना सकिएको छ । तीमध्ये नेकपा ९एमाले० ले सात र नेपाली काँग्रेसले छ वडामा विजय हासिल गरेका छन् ।
केही वडामा प्रमुखमा नेपाली काँग्रेसका राजुराज जोशीले बढी मत ल्याए पनि एमालेका विद्यासुन्दर शाक्यलाई मत गएको देखिन्छ । पचास प्रतिशत मतगणना सकिँदा प्रमुखमा मुख्य प्रतिस्पर्धा शाक्य र जोशीबीच भइरहेको छ । पहिलेदेखि अग्रता हासिल गर्नुभएका शाक्यले अहिले अग्रता लिनुभएको छ । नयाँ उदाएका विवेकशील नेपाली दल र साझा पार्टीले पनि सोचेभन्दा राम्रो मत पाएका छन् ।