८ जेष्ठ २०७४, सोमबार

 

तेहरान (इरान) । इरानका हालै पुनः निर्वाचित हुनुभएका राष्ट्रपति हसन रुहानीले सोमबार इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत गर्नुभएको सम्बोधनमा हालै साउदी अरबमा भएको क्षेत्रीय इस्लामिक राज्यहरुको सम्मेलन राजनीतिक महत्वविनाको एउटा नाटकमात्र भएको बताउनुभएको छ ।

रुहानीले भन्नुभएको छ, “आतङ्कवादलाई सभा, सम्मेलन एवम् राज्यको सम्पत्ति शक्तिशाली मुलुकलाई बुझाएर समाधान हुँदैन ।” रुहानीको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी हुनुभएको सम्मेलन र उहाँको सम्बोधनलाई इङ्गित गर्दै आएको हो ।

ट्रम्पले मध्यपूर्वमा रहेका मुस्लिम मुलुकले अतिवादी इस्लामिक समूहको नेतृत्वमा भइरहेको आतङ्कवादी गतिविधिका कारण समस्या झेल्नु परेको र यसलाई सबै मिलेर परास्त गर्नेपर्ने भनी आइतबार गरेको सम्बोधनलाई लिएर रुहानीको भनाई आएको हो । रुहानीले अमेरिकासँग साउदी अरबले हालै गरेको हतियार खरिद सम्झौताको कटाक्ष गर्दै भन्नुभएको छ, अमेरिकी सरकार मध्यपूर्वको आतङ्कवादविरुद्ध कहिल्यैँ लडेको छैन ।

रुहानी गत शुक्रबार भएको निर्वाचनमा ५७ प्रतिशत मत प्राप्त गरी इरानी राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको हो । रासस÷सिन्ह्वा

LIVE TV