८ जेष्ठ २०७४, सोमबार
  • प्रकाश सिग्देल,

चितवन । चितवन राष्ट्रिय निकुन्जको मुख्यालयमा दुर्लभ जनावरका आखेटोपहार जलाएर नष्ट गरिएको छ । सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिएका १ हजार ७ सय ३९ थान र चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरी राखिएको २ हजार २ सय ७३ थान गरी जम्मा ४ हजार १२ थान अखेटोपहार जलाएर नष्ट गरिएको हो ।

सोमबार राष्ट्रिय निकुञ्ज कार्यालय परिसरको हेलिप्याडमा हिन्दु परम्परा अनुरुप आखेटोपहार जलाईएको हो । आखेटोपहरा जलाउँदै परराष्ट्रमन्त्री प्रकाशशरण महतले चोरीशिकारी निरुत्साहित गर्ने सन्देश दिनका लागि अखेटोपहार जलाएर नष्ट गरिएको बताए । उनले चोरी शिकारी न्यूनीकरण तर्फ जानुमा सरकारी निकायलाई बिदेशी सहयोग र स्थानीय जनसमुदायको सहयोग प्रमुख रहेको पनि प्रष्ट पारे ।
कार्यक्रममा वन मन्त्री शंकर भण्डारीले औपचारिक रुपमा नै कुनै पनि काममा आखेटोपहार प्रयोग हुदैन भन्ने सन्देश दिन आखेटोपहारलाई जलाएर नष्ट गरिएको बताए ।
कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले वन वन्यजन्तु र वातावरणका विचमा एक आपसमा अन्तर सम्वन्ध रहेको भन्दै दुर्लभ वन्यजन्तु संरक्षण आजको चुनौती रहेको बताए । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत एलिना टेप्लिनले यसले दुर्लभ वन्यजन्तुको चोरीशिकार नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा सन्देश प्रवाह गर्ने बताए ।

आखेटोपहार जलाई सकेपछि वाँकी रहने खरानी खाडलमा पुरेर त्यस माथि स्मारक वनाईने बन बिभागका महानिर्देशक कृषणप्रसाद आचार्यले बताए । हात्तीको दाह्रा जलाउनको लागि आवश्यक तापक्रमको कारणबाट भण्डारण गरिराखिएको एक हजार १ सय केजी दाह्रा हाल नष्ट नगरिने उहाँले जानकारी दिए । हात्तीको दाह्रा जलाउनको लागि ९०० डिग्री सेन्टीग्रेट तापक्रम आवश्यक पर्ने भएकाले तत्काल सम्भव नरहेको सो अवसरमा जानकारी दिईएको थियो ।

 

LIVE TV