८ जेष्ठ २०७४, सोमबार

काठमाण्डौ । मधेसकेन्द्रित दलहरूलाई दोस्रो चरण निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तहवृद्धिको प्रस्ताव ल्याए पनि राष्ट्रिय जनता पार्टी नेपालसहितका मधेसी शक्तिले अस्वीकार गरेका छन् ।

आइतबार राति स्थानीय तह थपसम्बन्धी मन्त्रीस्तरीय तीन सदस्य र कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीलगायत दलका सांसदबीचको बैठकमा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तराईमा २० वटासम्म स्थानीय तह थप गर्न सकिने प्रस्ताव राखेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित थियो ।

यद्यपि राजपासहित मधेसी शक्तिले गच्छदारको प्रस्ताव अपूरो र अवैज्ञानिक रहेको भन्दै अस्वीकार गरिदिएका थिए । मन्त्री गच्छदारले आफूले आइतबार बिहान मात्र कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहालसँग परामर्श गर्दा २० तह थप्न सहमत भएको संकेत पाएको जानकारी दिएका थिए । फोरम नेपाल संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले अन्नपूर्णसँग भन्नुभयो, ुगच्छदारको प्रस्तावप्रति आपत्ति जनाउँदै राजपाका प्रतिनिधिहरूले सहमतिअनुसार जनसंख्याका आधारमा स्थानीय तह निर्धारण हुनुपर्ने माग गरे ।

राजपाको माग र प्रमुख दलका शीर्ष नेताहरूको म्यान्डेटबीच संयोजन हुने नदेखेपछि गच्छदारले लिखित रूपमा सोमबार बिहानसम्म सुझाव दिन मधेसी दललाई आग्रह गर्दै बैठक अन्त्य गरेको यादवले बताउनुभयो । बेलुका पौने ८ बजे बालुवाटारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई प्रधानमन्त्रीले फोन गर्दै स्थानीय विकास मन्त्रालयमा भएको बैठक निर्णयमा नपुगेकाले मन्त्रिपरिषद् बैठक सोमबार बस्ने जानकारी गराउनुभएको थियो । सरकारले स्थानीय निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउने उद्देश्यका साथ सोमबार २५ वटासम्म स्थानीय तह थप गर्ने जानकारी एक मन्त्रीले दिए ।

प्रधानमन्त्री दाहालले छाड्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्नुहुने भएको छ ।सोमबारदेखि सुरु हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री दाहालले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ । स्रोतले भन्यो, राष्ट्रपतिले आगामी ११ गते नीति तथा कार्यक्रम वाचन गरेपछि कुनै पनि समय प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुनेछ । मुलुकले जेठ अन्तिमसम्म नयाँ प्रधानमन्त्री पाउने दाबी एक मन्त्रीले गरे । उनले भने, विगतमा भएका भद्र सहमति कार्यान्वयन नभए पनि यसपटक भद्र सहमतिको कार्यान्वयन भद्र रूपमा नै हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले वर्तमान सरकारको नेतृत्व परिवर्तन आगामी दुई साताभित्र हुने बताउनुभयो । कांग्रेस नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री दाहालले दुई पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने बताउनुभयो । कांग्रेस उच्चस्रोतका अनुसार सरकारले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा जेठको अन्तिम सातासम्म प्रधानमन्त्री हुनुहुनेछ । उहाँले भन्नुभयो, सरकारको नेतृत्व परिवर्तनका लागि संसदीय प्रक्रिया पूरा गर्नुपर्छ । त्यो भनेको वर्तमान सरकारको नेतृत्वबाट दाहालले राजीनामा दिएपछि सात दिनको सहमति र सात दिनको बहुमतीय प्रक्रिया हो ।

सामाजिक सञ्जाल, राजनीतिक दलका क्रिया र प्रतिक्रियामा नलाग्न आग्रह गर्दै कांग्रेस उच्चस्रोतले भन्यो, भद्र सहमतिको पहिलोपटक कार्यान्वयन हुँदैछ । दाहालले सहमति पालना गर्ने कुरामा कांग्रेस ढुक्क छ । कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला र डा। शेखर कोइरालाले एउटै चुनावबीच दुई प्रधानमन्त्री हुन नहुने तर्क गर्दै वर्तमान सरकारले वैशाख ३१ झैं जेठ ३१ गते स्थानीय तहको चुनाव गर्नुपर्ने धारणा राख्नुभएको छ । अन्नपूर्णपोष्ट बाट

LIVE TV