७ जेष्ठ २०७४, आईतवार

भक्तपुर । चाँगुनारायण नगरपालिकामा दलहरुबीच विवाद हुँदा आज पनि मतगणना हुन सकेन ।

मतगणना सुरु गर्न आज सर्वपक्षीय बैठक बसेपनि नेपाली काँग्रेस र एमालेको विवादका कारण दुई दिनदेखि रोकिएको मतगणना सुरु हुन नसकेको हो ।

सर्वपक्षीय छलफलमा सहभागी भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले दलहरुबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगलाई समस्याका बारेमा लेखी पठाउने र आयोगको निर्देशनअनुसार अघि बढ्न दलहरु सहमत भएको बताउनुभयो ।

काँग्रेसले चाँगुनारायण नगरपालिकाको २ र ३ नं वडाको मात्र पुनःमतगणना गर्नुपर्ने माग राखेको तर एमालेले आफ्नो पार्टीलाई मात्रै लक्षित गरेकाले काँग्रेस विजयी भइसकेको वडा नं १ देखि ४ सम्म नै मतगणना गर्नुपर्ने माग गरेको बैठकका सहभागीले जानकारी दिएका छन् ।

मतपरिणामको पर्खाइमा बसेका मतदाताले भने तत्काल मतगणना गर्न माग गर्दै गणनास्थल अगाडि आज दिनभर धर्ना दिँदै नाराबाजी गरेका थिए ।

चाँगुनारायण नगरपालिकाका सहायक निर्वाचन अधिकृत राजेन्द्र वाग्लेले मतपरिणाम घोषणा भइसकेका वडाका हकमा पुनः मतगणना गर्ने व्यवस्था कानुनमा नभएकाले त्यसका लागि अदालत जानुपर्ने बताउनुभयो ।

आयोगको निर्देशनअनुसार अगाडि बढ्न दलहरु सहमत भएपछि आयोगलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत आयोगमा पत्राचार गरिएको उहाँले बताउनुभयो ।

शनिबार बिहान चाँगुनारायण नगरपालिका वडा नं. ३ र ४ को मतगणना सकिएपछि मतपरिणाम सार्वजनिक गर्ने बेलामा भएको विवादका कारण मतगणना रोकिएको थियो । अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगन गर्ने गरी मतगणना स्थलमा सिलबन्दी गरिएको छ । रासस

LIVE TV