७ जेष्ठ २०७४, आईतवार

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको शनिवार देखि अवरूद्ध भएको मतगणना झण्डै २४ घण्टापछि सुरू भएको छ । मतगणनाको क्रममा वडा न १७ मा फर्जी मत भेटिएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिहरुले मतगणनास्थल छोडेर हिँडेपछि मतगणना स्थगित भएको थियो ।

शनिवार मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको पाइएपछि त्यसको छानबिनको माग गर्दै नेपाली काँग्रेससहितका दलका प्रतिनिधि बाहिरिएका थिए ।

मतगणना स्थगित भएपछि निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेपनि कुनै सहमति जुट्न नसकेको बेला केन्द्रीय निर्वाचन आयोगको निर्देशनमा मतगणना हुने भएको हो । मत पत्रमा यदि निर्वाचन अधिकृतको हस्ताक्षर भएमा सदर हुने भनिएपछि मतगणना पुनः गर्न लागिएको हो ।

निर्वाचन आयोगले मतदान अधिकृतको हस्ताक्षर भएको मतपत्रमा लागेको स्वस्तिक छाप केही सानो वा ठूलो हुँदैमा केही फरक नपर्ने जनाउँदै मतगणना जारी राख्न निर्देशन दिएको छ । स्वस्तिक छाप प्राविधिक विषय भएकाले हुबहु एउटै आकारको नहुन पनि सक्ने भन्दै आयोगले निर्वाचन मतगणना सम्पन्न गर्ने निर्णय दिएको छ ।

LIVE TV