७ जेष्ठ २०७४, आईतवार

काठमाण्डौ । सङ्घीय गणतन्त्र स्थापना भएपछि पहिलो पटक भएको स्थानीय निर्वाचनमा आदिवासी जनजाति समुदायको उपस्थिति नेतृत्व तहमा बलियो देखिएको छ । हालसम्मको निर्वाचन परिणाम अनुसार कुल निर्वाचित प्रतिनिधिको ५०/९५ प्रतिशत आदिवासी जनजातिबाट रहेका छन् । समावेशी अवधारणाअन्तर्गत भएको निर्वाचनमा महिला र दलित महिलाका लागि छुट्टै कोटा छुट्याइएको छ । कोटा नछुट्याइएको आदिवासी जनजाति समुदायले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत नै बलियो उपस्थिति देखाएका हुन् ।

सर्वाजानिक भएको नतिजाअनुसार १३३ जना आदिवासी जनजाति समुदायका नेताहरू मेयर तथा अध्यक्षमा पर्नुभएको छ । यसमा थापा, बुढाथोकीजस्ता केही थर आदिवासी जनजातिभित्रका मगर समुदाय तथा मल्ल, जोशीजस्ता थर आदिवासी जनजातिभित्रका नेवार र गैर आदिवासीभित्र पनि पाइने भएकाले त्यसलाई समावेश गरिएको छैन । आदिवासी भनेर स्पष्ट चिनिने थरलाई मात्र यहाँ उल्लेख गरिएको छ ।

पछिल्लो जनगणनाअनुसार देशको कुल जनसङ्ख्याको ३८ प्रतिशत आदिवासी जनजातिको रहेका छन् । चुनावी नतिजा र उनीहरूको जनसङ्ख्याको अनुपात हेर्ने हो भने स्थानीय तहमा आदिवासी जनजातिले आफ्नो जनसङ्ख्याभन्दा धेरै प्रतिनिधित्व गरेको देखिन्छ । सरकारले राज्यको मूलधारका संस्कृतिभन्दा छुट्टै भाषा, धर्म, संस्कृति र इतिहास भएको समुदायलाई आदिवासी जनजातिको सूचीमा राखेको छ । जसअनुसार शेर्पा, तामाङ, मगर, गुरूङ, राई, लिम्बू, नेवार, थारू, चेपाङ, जिरेल, सुनुवार, थकालीलगायत ५६ वटा समुदाय अहिले यो सूचीभित्र परेका छन् । नतिजाअनुसार जनजातिभित्रै निर्वाचनमा नेवार, तामाङ, मगर र गुरूङ समुदायको उपस्थिति ठूलो देखिएको छ ।

सरकारले आदिवासी जनजातिलाई उन्नत, सुविधा वञ्चित, सीमान्तकृत, आतिसीमान्तकृत र लोपोन्मुखगरी पाँच समूहमा वर्गीकरण गरेको छ । जसअनुसार नेवार र थकाली उन्नत समूहमा पर्छन् भने तामाङ, गुरूङ, मगर, राई, लिम्बूलगायत १८ वटा समुदाय सुविधा वञ्चितमा पर्दछन् । नतिजाअनुसार प्रत्यक्ष निर्वाचित भएका जनजाति उन्नत र सुविधा वञ्चितभित्रका मात्र छन् ।

अहिले निर्वाचन भएको क्षेत्रमा नेवार, तामाङ, मगर र गुरूङको जनसङ्ख्या उल्लेख्य भएकाले नतिजा यस्तो देखिएको हो । यो क्षेत्रमा राई, लिम्बू, शेर्पालगायत पूर्वी पहाडी जिल्ला र तराई क्षेत्रमा बसोबास गर्ने जनजातिको जनसङ्ख्या करिब शून्य स्थितिमा छ । निर्वाचनबाट दोलखाको जिरी नगरपालिकामा टङ्क जिरेल मेयरमा, रामेछापको गोकुलगङ्गा गाउँपालिकामा खड्खगबहादुर सुनुवार तथा उमाकुण्ड गााउँपालिकामा शेरबहादुर सुनुवार अध्यक्ष निर्वाचित हुनुभएको छ ।

छन्त्याल, ह्लोमी, थुदामलगायतका समुदाय हाल निर्वाचन भएकै क्षेत्रमा बसोबास गर्ने भए पनि उनीहरू प्रत्यक्ष निर्वाचन हुन सकेका छैनन् ।

LIVE TV