६ जेष्ठ २०७४, शनिबार

सुर्खेत । सुर्खेतका स्थानीय तहका प्रमुख र उपप्रमुखमा पत्रकारिता पृष्ठभूमिका चार जनाले जित हात पारेका छन् । पत्रकारिता पेशाबाट पहिचान बनाएर राजनीतिमा प्रवेश गरेका देवकुमार सुवेदी, मोहनमाया ढकाल, कविन्द्रकुमार केसी र धीरबहादुर शाहीले स्थानीय तहको जिम्मेवारी पाएका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित देवकुमार सुवेदी पत्रपत्रिका र रेडियो जकी हुन् । नेपाली काँग्रेसबाट मेयर जितेका सुबेदी नेपाल प्रेस युनियन सुर्खेतका दुई कार्यकालका सभापति समेत रेहका थिए । वीरेन्द्रनगरकै उपमेयरमा निर्वाचित मोहनमाया ढकाल पूर्व रेडियोकर्मी छन् ।
ढकालले लामो समय सुर्खेतबाट सञ्चालित बुलबुले एफएममा काम गरेका थिए । उनले प्रेस चौतारी हुँदै नेकपा एमाले निकट अखिल नेपाल महिला संघमार्फत् आफ्नो राजनितिक यात्रा शुरु गरेका हुन् । यस्तै सिम्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित कविन्द्रकुमार केसी पनि पूर्व रेडियोकर्मी छन् ।

केसीले सुर्खेतको बुलबुले एफएममा केही समय काम गरी पछि आफ्नै नेतृत्वमा जागरण एफ. एम. को सञ्चालन शुरु गरेका थिए । विद्यार्थी राजनीतिलाई आफ्नो पृष्ठभूमि ठान्ने केसी प्रेस चौतारी नेपालमा आवद्ध थिए । केही समय पहिला देखि एमालेको मूलधारको राजनीतिमा आवद्ध छन् । यस्तै चौकुने गाउँपालिकाको अध्यक्षमा निर्वाचित धीरबहादुर शाहीले समेत सुर्खेतबाट प्रकाशित फरकबाटो नामको पत्रिकाका प्रकाशक हुनुहुन्छ । उहाँ एमालेबाट निर्वाचित भएका हुन् ।

 

LIVE TV