
काठमाण्डौ । दुई दशक पछि भएको स्थानिय तहको निर्वाचनमा काठमाडौंको चुनावी माहोल हेर्दा यसपटक एमालेले आफ्नो बिरासत फर्काउने देखिन्छ । काठमाडौं जिल्लामा एक महानगरपालिका र १० नगरपालिकासहित ११ वटा स्थानीय तह छन् । जिल्लाका यी सबै तहमा भएको निर्वाचनको प्रारम्भिक नजिता हेर्दा सत्तारुढ माओवादी केन्द्र ‘लोप’ हुने देखिएको छ ।
माओवादीको झोला रित्तो
लोडसेडिङको अन्त्य गरेर राजधानीबासीलाई उज्यालो उपहार दिएको माओवादीलाई काठमाडौंबासीले किन रुचाएनन् ? यो प्रश्न माओवादीभित्रै पनि उठेको छ ।
माओवादीका उम्मेदवारहरुले काठमाडौं महानगर र अन्य नगरपालिकाहरुमा कतै पनि ३ हजार मतसमेत कटाउन सकेको देखिँदैन ।
काठमाडौंमा ०६४ सालको निर्वाचनमा माधव नेपाल जस्ता नेतालाई हराउने माओवादी अहिले त्यही क्षेत्रका नगरपालिका र महानगरका वडामा जमानत जोगाउन नसक्ने अवस्थामा पुगेको छ । माओवादीले जित्ने आँकलन गरेका तारकेश्वर, टोखा, शंखरापुर, बूढानीलकण्ठ जस्ता नगरपालिकामा तेस्रो स्थानमा पनि अत्यन्त कम मतमा सीमित भएको छ ।
एमालेको कमब्याक
काठमाण्डौको अहिलेसम्मको मतपरिणाम र अग्रताका हिसाबले एमालेलाई धेरै नाफा भएको देखिएको छ । ०६४ सालको निर्वाचनमा शून्य सीटमा सीमित भएको एमाले ०७० को संविधानसभा चुनावमा आउँदा १० मध्ये २ सीटमा उक्लिएको थियो । तर, यसपटक एमालेको धेरै नै राम्रो सम्भावना देखिएको छ ।
अहिलेसम्म मतगणना सम्पन्न भएका शंखरापुर र टोखामा एमालेले जीत हासिल गरेको छ भने हाल गणना भइरहेकामध्ये बूढानीलकण्ठ र तारकेश्वर नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।
विसं। ०४८ देखि ०५६ सम्मको निर्वाचनमा काठमाडौंमा एकलौटी वर्चश्व कायम गरेको एमालेले ०६४ पछि काठमाडौं गुमाएको थियो । ठीक १० वर्षपछि एमालेले गुमेको काठमाडौं फिर्ता गर्ने गरी कमब्याकको संकेत दिएको छ ।
कांग्रेसलाई क्षति
गत संविधानसभा निर्वाचनमा एक छत्र जस्तो राज गरेको नेपाली कांग्रेस, परिणामका हिसाबले यसपालि काठमाडौं जिल्लामा घाटा व्यहोरेको छ । महानगरपालिकामा कांग्रेस शुरुदेखि नै एमालेभन्दा निकै पछि परिरहेको छ ।
महानगरको मतगणनामा कहिले दोस्रो र कहिले तेस्रो स्थानमा रहेको कांग्रेसले काठमाण्डौ नगरपालिकाबाट क्षतिपूर्ति लिने अपेक्षा थियो । तर, अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा कांग्रेसले काठमाडौं जिल्लाका १० मध्ये बढीमा ५ नगरपालिका अर्थात एमालेसँग बराबरीमा चित्त बुझाउनुपर्ने देखिएको छ ।
राप्रपालाई ठुलो धक्का
गत संविधानसभा निर्वाचनमा समानुपातिक मत तर्फ पहिलो बनेको राप्रपा काठमाडौंका कुनै पनि तहमा प्रतिस्पर्धामा आउन सकेको छैन । महानगर बाहिरका नगरपालिकामा २ वडाध्यक्ष बाहेक राप्रपाले काठमाडौं जिल्लामा आफ्नो उपस्थिति देखाउन सकेको छैन ।काठमाडौं महानगरपालिकामा एमालेसँग तालमेल गरेर उपमेयर पाएको राप्रपाले त्यहाँ पनि एमालेको मत पाउन सकेको देखिँदैन ।
काठमाडौंको अहिलेसम्मको समग्र चुनावी परिणाम हेर्दा माओवादी र राप्रपाको पत्तासाप नै भएको छ । माओवादीको झोला रित्तिएको काठमाण्डौमा राप्रपाले भने अझै पनि काठमाडौंमा उपमेयरको झिनो आशा जीवित राखेको छ।