मलेखु । नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।
आज बिहान मतगणना सकिएपछि अन्तिम परिणमानुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार भीमप्रसाद ढुङ्गानाले १३ हजार एक सय ६६ उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का अर्जुन श्रेष्ठले छ हजार छ सय २८ मत प्रप्त गरे ।
यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका मनराज भण्डारीले १० हजार तीन सय २५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गङ्गादेवी श्रेष्ठले छ हजार नौ सय ८५ मत प्राप्त गरेका छन् ।
तेत्तिस हजार ९९ मतदाता रहेको नीलकण्ठ नगरपालिकामा २४ हजार तीन सय ७५ मतदाताले मतदान गरेका थिए । अन्तिम मत परिणामानुसार नगरपालिकामा काँग्रेसले छ तथा एमाले र माओवादी केन्द्रले चार चार वडामा विजय हासिल गरेका छन् ।
माओवादी केन्द्र र काँग्रेसबीच तालमेल भएको थियो । नीलकण्ठ नगरपालिको मत परिणमसँगै जिल्लाका १३ स्थानीय तहको मत परिणाम आएको छ । जिल्लाको अन्तिम मत परिणामानुसार एमालेबाट एक नगरपालिका र आठ गाउँपालिकामा प्रमुख र अध्यक्ष तथा ५६ वडामा अध्यक्ष विजयी भएका छन् ।
काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकामा प्रमुख र अध्यक्ष तथा २४ वडाध्यक्षमा विजयी भएको छ भने माओवादी केन्द्र एक गाउँपालिकाका अध्यक्ष र २१ वडाध्यक्ष तथा राप्रपा एक गाउँपालिका अध्यक्षसहित तीन वडाध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अनलाइनबाट पञ्जीकरण गरिने
थाक्रे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार पदभार ग्रहण गरेका छन् । मतगणना सकिएपछि निर्वाचन कार्यालयले प्रमाणपत्र वितरण गरी प्रतिनिधिलाई शपथ गराएको थियो ।
प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज काफ्लेले शुक्रबार अध्यक्षमा निर्वाचित एमालेका रामकुमार आचार्य र अम्बिका रुपाखेतीलगायत ११ वडाका निर्वाचित प्रतिनिधिलाई शपथ गराए। शपथपछि निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्दै व्यक्तिगत घटना दर्ताको काम व्यवस्थित बनाउन आगामी साउनदेखि वडास्तरबाटै अनलाइन प्रणाली सुरु गरिने तथा सामाजिक सुरक्षा भत्ता वडास्तरबाट वितरण गरिने निर्णयमा हस्ताक्षर गरेका छन् ।
गाउँपालिकाको केन्द्र रहेको महादेवबेँसी बजारलाई सुन्दर बनाउन टोल सुधार समिति गठन गरिने र वास्तविक भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराइने पनि निर्णय भएको उपाध्यक्ष रुपाखेतीले जानकारी दिए ।
गल्छी गाउँपालिकामा पनि निर्वाचन अधिकृतले गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार नै शपथ गराएका छन् । प्रमाणपत्र लिएर जनताको नाममा शपथ खाएपछि गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठले जनताको घरदैलामा सेवा दिइने र वडा कार्यालयबाट छिटो जनताको सेवा पु¥याइने बताए ।