५ जेष्ठ २०७४, शुक्रबार

चितवन । मतगणना बहिस्कार गर्दै संयुक्त पत्रकार सम्मेलनमा कांग्रेस–माओवादी गठबन्धनले निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरेर न्यौपानेले धाँधली गर्न खोजेको आरोप लगाएका छन् ।

यता वडा नम्बर ४,७ र ९ को मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको बताइको छ ।

मत गणनाको सुरुमा वडा नम्बर ४ को मतगणना सार्बजनिक गर्दा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको भनिएको थियो । कांग्रेसले विजय उत्सव मनाउन कार्यकर्ताहरुलाई भेला पारेको थियो भने त्यसको केहीबेरमै एमालेका उम्मेदवार सात मतको अन्तरमा विजयी भएको घोषणा गरिएपछि कांग्रेस नेता–कार्यकर्ताहरुको आक्रोश बढेको थियो ।
रेणु दाहालले ५ सय मतले अग्रता लिनुपर्नेमा उल्टै ३ सय बढी मतले पछि पर्ने गरी तथ्यांक सार्बजनिक गरिएको माओवादी चितवन जिल्ला सहइन्चार्ज घनश्याम दाहालले बताए ।
त्यस्तै यता वडा नम्बर सातको मत परिणाम सार्बजनिक गर्दा पनि उम्मेदवारको प्रतिनिधिको टिपोट विपरित कम्प्युटर प्रिन्ट गरेर निकालेको तथ्यांक फरक देखिएको कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी गराए ।

कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले वडा नम्बर ९ को पुनः मतगणनाको माग गर्दै नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । सार्बजनिक गरिएको वडा नम्बर ९ को मत परिणाम पनि त्यसैगरी फरक सार्बजनिक गरिएको कांग्रेस र माओवादी नेताहरुको दाबी छ ।
९ नम्बर वडाको मतगणना सकिँदा एमालेका उम्मेदवार देबी ज्ञवालीको १५ हजार १५५ र माओवादीकी उम्मेदवार रेणु दाहालको १४ हजार ८०९ मत सार्बजनिक गरिएको थियो ।

LIVE TV