
- लोकेन्द्र खनाल,
रुकुम । रुकुमको मुसिकोट नगरपालिकाका नव निर्वाचित प्रमुख, उप प्रमुख र वडा अध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार मुसिकोटमा रहेको जिल्ला अदालतमा औपचारिक कार्यक्रमका बिच नगर प्रमुख देविलाल गौतम र उप प्रमुख प्रेमकुमारी सुनार केसी लगायत १४ जना वडा अध्यक्ष सहित ५६ जना सदस्यहरुले एक साथ पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट मुसिकोट नगरपालिकमा प्रमुखमा नेकपा माओवादी केन्द्रका देविलाल गौतम र उपप्रमुखमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनार केसी बिजय हुनुभएको थियो ।
शुक्रबार दिउँसो २ बजे भएको शपथ ग्रहण कार्यक्रममा नगर प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश डण्डपाणि शर्माले शपथ ग्रहण गराएका थिए भने वडा सदस्यहरुलाई नगर प्रमुख मेयर देविलाल गौतमले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण पछि सञ्चारकर्मीहरुसँग नव निर्वाचित नगर प्रमुख गौतमले मुसिकोटको समग्र विकासको लागि आफुले गुरुयोजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । गौतमले यस क्षेत्रमा मिचिएका सार्वजनिक जग्गाको यकीन विवरण तयार गरी त्यसलाई व्यवस्थापन गर्नु पनि आफ्नो मुख्य काम हुने बताएका थिए ।