५ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं । उपप्रधान मन्त्री एवं अर्थ मन्त्री कृष्णबहादुर महराले देश अझै संक्रमणकालबाट गुज्रिरहेकाले त्यस्को प्रत्यक्ष असर अर्थतन्त्रमा परेको बताएका छन् । उनले देशको अर्थतन्त्र स्वाधीन अर्थतन्त्र रहेको तर यो अर्थतन्त्रको नेतृत्व अर्कैको हातमा जानसक्ने खतरा रहेकोले सबैलाई सचेत हुन पनि आग्रह गरे ।

शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले काठमाडौँमा आयोजना गरेको नेपालको अर्थतन्त्रमा राजनीतिक संक्रमनकालको प्रभाव विषयक अन्र्तक्रिया कार्यक्रममा अर्थमन्त्री महराले नेपालको अर्थतन्त्रको ठूलो हिस्सा बाहिर रहेको बताए ।

उनले यही कारण राज्यको अर्थतन्त्र प्रभावित बनेको जानकारी दिए । उनले बजेट बनाउने क्रममा निजी क्षेत्रबाट आएका धेरै किसिमका गुनासो तथा मागहरुलाई सम्बोधन गर्न तयार रहेको तर यदि राज्यले देशको अर्थतन्त्रलाई खुकुलो बनाए राज्यको अर्थतन्त्र नेपालीको हातमा रहने कि नरहने डर रहेको बताए ।

अर्थमन्त्री महराले स्थानीय निर्वाचन पछि देशमा संक्रमणकालको अन्त्य हुने र राज्यको अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन आउने विस्वास व्यक्त गरे । यो निर्वाचनले पनि देशको अर्थतन्त्रलाई प्रभाव पारेको बताउदै गत बर्षको तुलनामा यस बर्षको अर्थतन्त्र सकारात्मक दिशामा अगाढि बढेको जानकारी दिनुभयो । उहाँले अहिलेको बजेट संघीयता उन्मुख बजेट हुने बताए ।

अर्थ मन्त्री महराले निजी क्षेत्र राज्यसंग इमान्दार हुने प्रत्याभूति हुने हो भने राजस्व नीतिसंग सम्बन्धित अव्यवहारिक लागेका पक्षहरुका विषयमा सोच्न सकिने बताए । अहिले देशमा राष्ट्रिय पूँजी भन्दा दलाल पुँजीको खेल धेरै रहेकोले राज्यको अर्थतन्त्रको आधा हिस्सा ति व्यक्तिहरुको हातमा रहेकोले देशको अर्थतन्त्र अर्कैको हातमा जानसक्ने डर रहेको अर्थ मन्त्री महराले प्रष्ट पारे ।

 

LIVE TV