५ जेष्ठ २०७४, शुक्रबार

एउटा प्रत्यक्ष अन्तर्वार्तामा बिबिसीका एक पत्रकारले महिलाको स्तन समाएका छन् । बिबिसीका संवाददाता वेन ब्राउनले महिलाको स्तन समाएका हुन् । ब्राउनले आफ्ना सहकर्मी तथा राजनीतिक मामिलासम्बन्धी सहायक सम्पादक नोमान स्मिथसँग लेबर पार्टीको चुनावी घोषणापत्रबारे ब्राडफोर्डमा अन्तर्वार्ता लिइरहेका थिए, जसको प्रत्यक्ष प्रसारण भइरहेको थियो ।  आजको नयाँ पत्रिकामा खबर छ ।

अन्तर्वार्ता भइरहेका वेला अकस्मात एक अर्धबैँसे महिला उनीहरूको बीचमा पुगेर अवरोध गरिन् । धेरै झोला बोकेकी, चितुवाको रंगजस्तो टिसर्ट र कालो ज्याकेट लगाएकी ती महिलाले एउटा औँला ठड्याएर ‘निकै राम्रो’ भनिन् । तत्कालै ब्राउनले दायाँ हातले ती महिलाको स्तन समाएर पन्छाए । ब्राउनको व्यवहारले आक्रोशित महिलाले ब्राउनको काँधमा जोडले हिर्काएर क्यामेराबाट भागेकी थिइन् ।

हात फैलाउँदा संयोगवश महिलाको स्तनमा हात पुगेको ब्राउनले जिकिर गरेका छन् । तर, ब्राउनले महिलाको स्तन नै ताकेर समाएको क्यामेरा मेन जासन फरिङटनले बताएका छन् । फरिङटन भन्छन, ‘ब्राउनले महिलाको स्तन समाएकै हुन् ।’ सो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहको छ । उनलाई बिबिसीले बर्खास्त गर्नुपर्ने र सो घटनाबारे प्रहरीले अनुसन्धान गर्नुपर्ने केही ट्विटर प्रयोगकर्ताले बताएका छन् । तर, सो घटना संयोगवश भएकाले ब्राउन दोषी नभएको पनि केही प्रयोगकर्ताको भनाइ छ । ‘बिचरो १ बेन ब्राउन । यो उनको गल्ती होइन । स्तन काण्डमा उनले थप झमेला सामना गर्नुपर्ने छैन भन्ने मेरो आशा छ ।,’ एक ट्विटर प्रयोगकर्ताले लेखेका छन् ।

महिलाले प्रत्यक्ष प्रशारणमा नियोजित ढंगले अवरोध गरेकाले उनीमाथि दुव्र्यवहार गरिएको हुन सक्ने ट्विटरका अर्का प्रयोगकर्ता स्र्टट फ्राईको छ ।

यसैबीच आफूले नियतवश महिलाको स्तन नसमाएको ब्राउनले ट्विटमार्फत स्पष्ट पारेका छन् । ‘ब्रार्ड फोर्डमा प्रशारण भइरहँदा दुर्भाग्यपूर्ण अवरोध । अवरोधलाई हटाउने प्रयास मात्र गरेको हुँ तर नियतवश भने होइन,’ उनले ट्विट गरेका छन् । ट्विटरमा उनका ५९ जना फलोअर छन् । सो घटनाबारे बिबिसीले कुनै टिप्पणी गरेको छैन ।

अक्सफोर्डबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रको अध्ययन गरेका ब्राउनले बिबिसी प्रवेश गर्नुअघि ग्लासगो र लिभरपुलको स्थानीय रेडियोमा काम गरेका थिए । सन् १९८८ मा बिबिसी सेवामा प्रवेश गरेका उनी विदेश मामिलामा रिपोर्टिङ गर्छन् । उनले बर्लिन वालको पतन र पहिलो गल्फ युद्धबारे सनसनीपूर्ण रिपोर्टिङ गरेका थिए ।

LIVE TV