५ जेष्ठ २०७४, शुक्रबार

फलेवास । गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना पर्वतमा सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार बिहीबार साँझ पर्वतका सातवटै स्थानीय तह र ६१ वटै वडाको मतपरिणाम सार्वजनिक भइसकेको हो । पछिल्लो परिणामअनुसार नेकपा (एमाले)ले एक नगरपालिका र तीन गाउँपालिका गरी चार तहमा जित हात पारेको छ भने नेपाली काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकासहित तीन तहमा विजयी भएको छ ।

पर्वतमा नेकपा (एमाले) र काँग्रेसबीच नै प्रतिस्पर्धा भएको थियो । कुश्मा नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी भएका छन् । उनले आठ हजार ५७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का मेघनाथ सुवेदीले सात हजार २३९ मत प्राप्त ग्ेका थिए ।

कुश्मा नगरपालिकाको उपप्रमुखमा नेकाकै सीता काफ्ले लामिछानेले आठ हजार ४१९ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी नेकपा (एमाले)की मुवादेवी शर्माले सात हजार २३ मत पाएका छन् ।

फलेवास नगरपालिकामा नेकपा (एमाले)का पदमपाणि शर्माले ६ हजार १०३ मत प्राप्त गर्दै प्रमुखमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका गङ्गाधर तिवारीले पाँच हजार ६५५ मत प्राप्त गरेका छन् । उक्त नगरपालिकाको उपप्रमुखमा एमालेकै मञ्जु अधिकारीले पाँच हजार ९५४ मत प्राप्त गर्दै विजयी भए भने उनकी प्रतिस्पर्धी नेकाकी रेखा गुरुङले पाँच हजार ६४९ मत प्राप्त गरेकी छन् ।

दक्षिणको महाशिला गाउँपालिकामा नेकपा (एमाले)का राजु पौडेल दुई हजार ४५३ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी नेकाका उज्जवल गुरुङले दुई हजार १० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा (एमाले)कै हिरादेवी थापा दुई हजार ४८२ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी नेकाकी सृजना मल्ल ठकुरीले एक हजार ९९१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, बिहादी गाउँपालिकाको प्रमुखमा एमालेका कमल भुषालले दुई हजार ४२० मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका प्रवीण गुरुङले दुई हजार २१७ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकी डम्मरकुमारी गुरुङ विजयी भएका छन् । उनले दुई हजार ३१५ मत प्राप्त गरे भने नेकाकी विष्णुकुमारी खड्काले दुई हजार २८९ मत पाएकी छीन् ।

मोदी गाउँपालिकामा एमालेका प्रेमप्रसाद पौडेलले पाँच हजार ६३४ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी नेकाका विश्वप्रकाश प्रसाईंले तीन हजार ८१९ मत पाएका थिए । उपाध्यक्षमा एमालेकै सेती महतले पाँच हजार ३९९ मत प्राप्त गर्दै विजयी भएकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेकाकी मीना केसीले तीन हजार ८३४ मत पाएकी थिए ।

उत्तरी पर्वतको जलजला गाउँपालिकाको प्रमुखमा नेकाका यामबहादुर मल्लले तीन हजार ७३३ मत पाउँदै विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लालबहादुर अधिकारीले तीन हजार ६८ मत पाए । उपप्रमुखमा काँग्रेसकी सीमा पुनले तीन हजार ६८८ मत प्राप्त गर्दै विजयी भए भने एमालेकी अनिता शर्माले तीन हजार ६५७ मत पाए ।

दक्षिण पर्वतको पैँयू गाउँपालिकाको प्रमुखमा नेकाका खगेन्द्र तिवारी विजयी भए । तिवारीले तीन हजार ४३१ मत पाउँदा एमालेका मित्रलाल बस्यालले दुई हजार ४४५ मत पाए ।

उपाध्यक्षमा पनि नेकाकी जसमति गुरुङले तीन हजार १६८ मत प्राप्त गर्दै विजयी भए भने एमालेकी गोमताकुमारी शर्माले दुई हजार ४८४ मत पाएका थिए ।

पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका ३७ वटा वडामा एमाले विजयी भएको छ भने २० वडामा काँग्रेस र ४ वडामा माओवादी केन्द्र विजयी भएको छ । पहिलो चरणको मतगणना सम्पन्न भइसकेपछि जिल्ला सभाको तयारीमा लागेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।

LIVE TV