
काठमाण्डौ । नेपाली कांग्रेसले पहिलो चरणको स्थानीय चुनावमा अपेक्षा गरिएजस्तो परिणाम नआएकाले दोस्रो चरणको स्थानीय चुनावमा परिणाम आफ्नो पक्षमा पार्न प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय निकालेको छ ।
चुनावको समीक्षा गर्दै आगामी रणनीति तय गर्न बिहीबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले भने, ‘अहिलेको परिणामको समीक्षा गर्यौं र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले हामीले प्रस्तुत हुनुपर्छ भन्ने कुराहरु भयो ।’
कोइरालाले पत्रकारहरुसँग भने, ‘अहिले मिश्रित चुनावी नतिजा छ । कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा नेपाली कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भा’को छैन जस्तो देखिन्छ । यद्यपि अन्तिम परिणाम आउन भने बाँकी छ ।’
पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमतिका बारेमा छलफल भएको कोइरालाले जानकारी दिए । महामन्त्री कोइरालाका अनुसार संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भएको बताएका छन् ।