
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन नर्वेको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा ललितपुरमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी भए ।
त्यसअवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि नर्वेका राजदूत चेल तोरमोड पिटरसेनले नेपालको सामाजिक, आर्थिक तथा लोकतान्त्रिक विकासमा सहयोग गर्नु नर्वेको प्रमुख प्राथमिकता भएको बताए ।
नर्वेली करदाताले दिएको पैसाबाट नेपालका अति निर्धन समुदाय लाभान्वित हुनुपर्छ भन्ने नर्वेको धारणा रहेको पनि उनले बताए ।
“हाम्रो संविधानले प्रजातान्त्रिक अधिकारको रक्षा गर्दै जनतालाई विविध अवसरमा स्थान दिएको र त्यो नै लोकतन्त्रको सुन्दर पक्ष हो जुन नेपालमा पनि महसुस भएको छ”– उनले भने ।
उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति–व्यापारी, वरिष्ठ सञ्चारकर्मी तथा कामका सिलसिलामा यहाँ रहेका नर्वेली नागरिकको उपस्थिति थियो । रासस