३ जेष्ठ २०७४, बुधबार

काठमाडौँ । मतगणनामा भएको ढिलाइप्रति चौतर्फी आलोचना भएपछि निर्वाचन आयोगले आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन गर्न सक्ने गरी मुख्य निर्वाचन अधिकृतलाई अनुमति दिएको छ ।

स्थानीय तहको निर्वाचनको मतगणना परिणाम आउन अनपेक्षित रूपमा ढिलाइ भएपछि आयोगले त्यस्तो अनुमति निर्वाचन अधिकृतलाई दिएको बताएको छ । २४ घण्टामा एक हजार मत पनि गणना हुन नसकेपछि स्थानको अवस्था हेरेर दलीय सहमति अनुसार व्यवस्था गर्न गराउन आयोगले भनेको छ । “निर्वाचनमा सहभागी दलका नेताहरूबीच सहमति हुन्छ भने निर्वाचन अधिकृतको परामर्शमा आवश्यकताअनुसार जनशक्ति थप गर्न सक्ने अधिकार निर्वाचन अधिकृतलाई छ, ढिलाइ भयो भनेर आयोगलाई दोष दिनु हुँदैन” आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो । मत परिणाम आउनमा ढिलाइ भएको जनगुनासो आउनेबित्तिकै आयोगले निर्वाचन अधिकृतहरूलाई त्यस्तो व्यवस्थाका लागि निर्देशन दिएको प्रवक्ता शर्माले दाबी गर्नुभयो । “आवश्यकताको पहिचान गरी निर्वाचन अधिकृतले दलका नेताहरूको सल्लाहमा ठाउँअनुसारको व्यवस्थापन गर्नुहोला”, उहाँले भन्नुभयो ।

मतगणना स्थलका कतिपय ठाउँमा स्पेस कम भएकाले छेउछाउको अन्य भवनमा आवश्यकताअनुसार सुरक्षाकर्मीको व्यवस्थापन गरी मतगणनाको व्यवस्थापन गर्न सकिन्छ, आयोगले भनेको छ । मतपत्र नै झन्झटिलो र आकारमा ठूलो भएको तथा जनशक्तिको अभावमा मत परिणाम आउनमा ढिलाइ भएको हो भन्दै आयोगले जनशक्ति व्यवस्थापनका लागि नीतिगत निर्णय गरेर निर्वाचन अधिकृतहरूलाई जानकारी गराइसकेको बताएको छ ।

आयोगका सचिव गोपी मैनालीले दलका नेताहरूबीच सहमति हुन्छ भने प्रमुख निर्वाचन अधिकृतसँगको सल्लाहमा ठाउँअनुसार आवश्यकताबमोजिम जनशक्ति व्यवस्थापन गर्न सक्छ, यो उसको अधिकारको विषय हो भन्नुभयो । परिणाम आउन ढिलाइ भएको जनगुनासो आफूहरूलाई आएको मैनालीले बताउनुभयो । त्यसका लागि के कस्तो व्यवस्थापन गर्न सकिन्छ गर्नुस्, आवश्यक स्रोतको व्यवस्थापन आयोगले गर्छ, सचिव मैनालीले भन्नुभयो ।

आयोग पनि सकेसम्म छिटो परिणाम आओस् भन्ने नै चाहन्छ भन्दै सचिव मैनालीले दलका नेताहरूलाई सानो कुरामा धेरै झमेला नगर्न आग्रह गर्नुभयो । कतिपय साना विषयमा दलका नेताहरू अनावश्यक झमेला गर्दा मत परिणाम बाहिर ल्याउनमा ढिलाइ भइरहेकोे उहाँले बताउनुभयो । मत गणना गर्दा सबै मतपत्रलाई हरेक दलका प्रतिनिधिलाई देखाउनुपर्ने बाध्यताले मतगणनामा ढिलाइ भएको आयोगले जनाएको छ । मत परिणाम छिटो पनि ल्याउनुपर्ने र प्राविधिक कठिनाइ पनि सँगसँगै भएकाले नागरिकको अपेक्षाअनुरूप परिणाम नआएको हो आयोगले भनेको छ ।

काठमाडौँ महानगरपालिकाको आइतबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतगणना यो समाचार तयार पार्दासम्म करिब एक हजार मतगणना भएको छ । त्यस्तै, शनिबार राति सुरु भएको ललितपुर महानगरपालिकामा समाचार तयार पार्दासम्म करिब दुई हजार मतगणना भएको छ । भरतपुर महानगरपालिकाको अवस्था पनि त्यस्तै छ । तर, पोखराको लेखनाथ महानगरपालिकामा भने तुलनात्मक रूपमा बढी मतगणना भएको पाइएको छ ।

LIVE TV