
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता रहेको छ । बनेपा नगरपालिकाको मतगणना अनुसार वडा नम्बर ३ र ४ मा एमाले विजयी छ ।
त्यस्तै, मण्डन देउपुर वडा नम्बर १ को मतगणना अनुसार एमाले पूरै समूह विजयी भएको छ । त्यस्तै, पाँचखालको वडा नम्बर १ मा पनि एमालेको अग्रता देखिएको छ । बनेपा नगरको मतगणनाअनुसार नेकपा (एमाले)ले नेपाली काँग्रेसलाई पछि पार्दै १,१२८ मतले वडा नम्बर १ मा कृष्णप्रसाद दाहाल विजयी हुनुभएको छ भने वडा नम्बर २ मा ११३६ मतले श्यामसुन्दर श्रेष्ठ विजयी भएका छन् ।
त्यसैगरी, मण्डन नगरपालिका–१ मा एमालेको पूरै समूह विजयी भएको छ । एमालेको विजयी समूहमा वडाध्यक्षमा लक्ष्मण बस्ताकोटी ६६० मतले काँग्रेसलाई पछि पार्दै विजयी भएका छन् ।
त्यस्तै, दलित महिला सदस्यमा सानीकान्छी दमाईंले ६४७ मत पाएका छन् । महिला सदस्यमा अञ्जली तामाङले ६४७, सदस्य नम्बर १ मा टोकबहादुर तामाङले ६४१ र सदस्य नम्बर २ मा रामप्रसाद दाहालले ६१७ मत प्राप्त गरी पूरै समूह विजयी भएको हो ।
पाँचखाल वडा नं १ को वडाध्यक्षमा अष्टबहादुर तामाङले ५०७ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी, दलित महिला सदस्यमा माओवादीमा कान्छी दमाईंबाहेक अन्य सदस्यमा एमाले नै विजयी छ ।
बनेपा नपाको वडा नम्बर १ र २ मा भने वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा १ नम्बरमा पीताम्बर दुलालले ५१३ र २ बाट हरिशरण घिमिरेले ४५७ मत ल्याएर विजयी भएका छन् ।
स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा (एमाले)का तर्फबाट प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अग्रस्थानमा छन् ।
वडा १ र २ को अन्तिम मत परिणामअनुसार एमालेका ब्यञ्जनकारले दुई हजार ६२५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका चिरिबाबु महर्जनले दुई हजार १७७ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जनले ८४७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुख पदमा नेपाली काँग्रेसकी गीता सत्यालले एक हजार ४०३ र राप्रपाका बाबुबाजी प्रधानले एक हजार २७२ मत प्राप्त गरेका छन् ।
वडा नं १ र २ को मतगणना सकिएलगत्तै अहिले वडा ३ र ४ को मत गणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
वडा नं दुईमा एमाले विजयी
यसैबीच, लमनपाको वडा २ को अध्यक्ष पदमा एमालेका राजेश महर्जनको समूूह विजयी भएको छ । महर्जनले एक हजार ८३८ मत प्राप्त गरेका छन् ।