काठमाडौँ । स्थानीय तहअन्तर्गत पहिलो चरणको आइतबार सम्पन्न मतदान कार्यमा मतदाताको व्यापक र उत्साहजनक सहभागिता देखिएको छ । तीन वटा प्रदेशका ३४ जिल्लाको २८१ स्थानीय तहमा भएको निर्वाचनमा कम्तीमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि आइतबार राति वा सोमबार बिहानबाटै मतगणना हुने र मत परिणाम सार्वजनिक गरिने कार्यक्रम छ ।
निर्वाचन आयोगमा आइतबार साँझ आयोजित विशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले भन्नुभयो, ‘‘स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । मतदाता महानुभावहरूले लोकतान्त्रिक अभ्यासमा देखाउनुभएको व्यापक सहभागिताप्रति आयोग हार्दिक
धन्यवाद ज्ञापन गर्छ । ’’
मत परिणामलाई लिएर दलहरूले जनाउने सम्भावित असन्तुष्टिप्रति सङ्केत गर्दै प्रमुख आयुक्त यादवले जनताको मतादेशलाई सम्मान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयम प्रदर्शन गर्न, लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग अनुरोध गरेको छ । ’’ मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुगेको बताउँदै आयोगले मतपत्र ठूलो हुनु, छोटो समयमा तयारी गर्नु मतदाता शिक्षा प्रदान गर्न समय कम हुनु, बेलैमा राजनीतिक सहमति कायम नहुँदा उत्पन्न अन्योलबीच भएको तयारीप्रति सन्तोष व्यक्त गरेको छ ।
गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेष गरी महिला, दलित, अल्पसङ्ख्यक समुदायको सहभागिता निकै उत्साहप्रद रहेकोमा आयोगले हर्ष प्रकट गरेको छ ।
आयोगले नचाहँदा नचाहँदै पनि काभ्रेको नमोबुद्ध नगरपालिका ४ को मतदान केन्द्र, कालिकोटको कालिका गाउँको बालाचौर आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको निर्वाचन स्थागित भएको जनाएको छ । दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्यश्वर मतदान केन्द्रमा सुरक्षा कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
मतदानपछि सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको छ भने हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो । पहिलो चरणको निर्वाचन २८३ स्थानीय तहका लागि भए पनि आइतबार २८१ स्थानमा मात्रै मतदान भएको थियो । मनाङ जिल्लाको नारपूm गाउँपालिका र डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेका थिए ।
काठमाडौँ उपत्यकासहित ३४ वटै जिल्लाका सहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रहरूमा मतदाताहरू बिहान ७ बजेअघिदेखि नै मतदान केन्द्रअघि पङ्क्तिबद्ध भएर युवा पुस्तादेखि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक सहभागिता जनाएको भन्दै प्रमुख आयुक्तले मतदाताको प्रशंसा गर्नुभयो ।