
काठमाडौँ । राष्ट्रिय महिला आयोगले स्थानीय तह निर्वाचनमा देशका २७ जिल्लामा गरेको अनुगमनमा अधिकांश ग्रामीण स्थानमा मतदाता शिक्षाको अभाव पाइएको छ ।
आयोगले निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउने उद्देश्यले गरिएको स्थलगत अनुगमनमा मतदातामा देखिएको अन्योलताले धेरै मतपत्र बदर हुने देखिएको छ ।
राष्ट्रिय महिला आयोगका सचिव तुलसीराम सेडाईंले अनुगमनपछि मतदाता शिक्षाको अभावमा मतपत्र बदर हुनसक्ने खतरा औँल्याउँदै महिला वर्गको निर्वाचनमा सहभागिता कम देखिएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगको निर्देशनमा यसअघि ‘स्थानीय तह निर्वाचन लैङ्गिक अनुगमन समिति’ समेत स्थापना गरिएको थियो । सो समिति महिला आयोगको मातहतमा रहने गरी स्थापना गरिएको हो । यसले दोस्रो चरणको पनि अनुगमन गर्ने छ ।
उहाँका अनुसार स्थानीय तह निर्वाचन हुनु पूर्व काठमाडौँ उपत्यकाका ३० वटा मतदान केन्द्रमा गरेको अनुगमनमा काठमाडौँ, ललितपुर र भक्तपुरका २२ वटा मतदान केन्द्रमा मतदाता मतपत्रका बारेमा अन्योल थिए ।
काठमाडौँ उपत्यकाका अधिकांश मतदान केन्द्रमा गरिएका तयारी व्यवस्थित हुन नसकेको, मतदाता शिक्षाको अभाव तथा स्थानीय तह निर्वाचनका सन्दर्भमा लैङ्गिकमैत्री भएको पाइएको छ ।
कतिपय स्थानका मतदान केन्द्र साँघुरो, कतिपय स्थानमा दलित महिलाको उम्मेदवार नपाइएको, शङ्खरापुर नगरपालिकाका–४ मा केही मतदाताले अघिल्लो चुनावमा मतदान गरेको भए पनि अहिले मतदाता नामावलीमा नाम छुटेको पाइएको छ ।
आयोगले आज जारी गरेको विज्ञप्तिमा समग्रमा निर्वाचन लैङ्गिकमैत्री पाइएको उल्लेख गरिएको छ । मतदाता परिचयपत्र केन्द्रमा नपुगेको समस्या देखिएको छ । सुत्केरीलाई स्तनपान गर्ने स्थानको व्यवस्था नहुनु, वृद्धवृद्धालाई आराम गर्ने स्थल नहुनु अर्को समस्याका रुपमा लिइएको छ ।
निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार धेरै भएपछि छनोटमा समस्या देखिएपछि त्यसको न्यूनीकरणका लागि निर्वाचन आयागले करिब २१ हजार कर्मचारीलाई दीक्षित गरी मतदाता शिक्षाका लागि देशका विभिन्न स्थानमा खटाएको जनाएको छ ।
सञ्चारकर्मी, बुद्धिजीवी, विभिन्न सङ्घ, संस्थाका प्रतिनिधिले गरेको अनुगमनका क्रममा काठमाडौँ उपत्यका सहरी क्षेत्रमा गरिएका तयारी राम्रो रहेको भए पनि ग्रामीण क्षेत्रमा तयारी प्रभावकारी हुन सकेको छैन । निर्वाचन आयोगले जारी गरेको निर्वाचनसम्बन्धी आचारसंहिताको उम्मेदवारबाट पूर्ण पालना हुन नसकेको पाइएको छ ।
करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र आसपासका केही जनतामा निर्वाचनमार्फत स्थानीय सरकार गठन हुन लागेकामा सामान्य खुसी छन् ।
स्थानीय निर्वाचनमा देशभरबाट कुल एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता रहेको भए पनि पहिलो चरणमा विभिन्न ३४ जिल्लामा करिब ५० लाख मतदाता थिए । पहिलो चरणमा छ हजार ६७२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
सरकारले गर्न लागेको पहिलो चरणको निर्वाचनमा विभिन्न ३४ जिल्लामा ३५१ अनुगमनकर्तालाई महिला आयोगले परिचयपत्र उपलब्ध गराएको छ । आयोगका उपसचिव यमेन्द्र उपाध्यायका अनुसार अनुगमनमा खटिने कर्मचारी तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिलाई निर्वाचन हुनु अगाडि र निर्वाचनका दिनमा अनुगमन गर्न प्रशिक्षण दिइएको थियो ।
दोस्रो चरणको निर्वाचनमा पनि अनुगमनकर्ताबाट गरिएको स्थलगत सर्भेक्षणका आधारमा पाइएका त्रुटि तथा कमजोरीलाई सुधार गर्न आवश्यक सुझाव थप गरी निर्वाचन आयोगलाई दिइने छ । रासस