
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनका क्रममा ज्यान गुमाएको घटनाको छानविन गर्न सरकारलाई आग्रह गरेको छ ।
निर्वाचनको अनुगमनपछि विज्ञप्ती जारी गरी मानवअधिकार आयोगले ज्यानै जाने गरी भएका घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको हो । आयोगले घाइतेहरूको निःशुल्क उपचार व्यवस्था गर्न तथा अपहरणमा परेकाको सकुशल उद्धार गरी सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।
यस्तै, अनुगमनको क्रममा मतदाता शिक्षा, मतदाता परिचय पत्र, मतदान केन्द्रको सुव्यवस्था जस्ता विषयमा उल्लेख्य सुधार गर्नुपर्ने पाइएको आयोगले जनाएको छ । आयोगले आगामी निर्वाचनमा कमीकमजोरीलाई सुधार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।